Logo

१४ पुष, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायलाई गोली चलाउन वा अत्यधिक बल प्रयोग गर्न कुनै पनि लिखित वा मौखिक आदेश नदिएको प्रष्ट पार्नुभएको छ ।

सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आन्दोलनका क्रममा भएको क्षतिप्रति आफू निकै मर्माहित भएको र सोही कारण पदीय मर्यादालाई ख्याल गर्दै नैतिकताका आधारमा राजीनामा दिएको दाबी गर्नुभयो । लेखकले आफूबाट मान्छे मार्ने जस्तो गलत कर्मको आदेश हुन नसक्ने भन्दै आफ्नो राजनीतिक निष्ठामाथि प्रश्न नगर्न आग्रह गर्नुभयो ।

आयोगसमक्ष भएको बयानका बारेमा जानकारी दिँदै लेखकले सुरक्षा परिचालन गर्ने कानुनी प्रक्रिया र गृह प्रशासनको भूमिकाबारे स्पष्ट पार्नुभएको थियो। उहाँले कुनै पनि प्रदर्शनमा बल प्रयोग गर्ने आदेश गृहमन्त्रीले नभई स्थानीय प्रशासन र सुरक्षा निकायले स्थितिको मूल्याङ्कन गरेर लिने कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो । ‘मैले गोली प्रहार गर्ने वा बल प्रयोग गर्ने कुनै आदेश दिएको छैन र दिनुपर्ने कानुनी व्यवस्था पनि छैन’  लेखकले भन्नुभयो, ‘आन्दोलनमा भएको क्षतिले मलाई ठूलो पीडा दिएको छ, त्यसैले जिम्मेवारी महसुस गर्दै पद त्यागेको हुँ।’

पत्रकार सम्मेलनमा लेखकले आफूले अनुसन्धानलाई सघाउन र सत्यतथ्य बाहिर ल्याउन आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्‍याउनुभयो । आन्दोलनका क्रममा घुसपैठ भएको र नेतृत्वविहीन भीडका कारण अप्रत्याशित परिस्थिति सिर्जना भएको उहाँको विश्लेषण थियो । तत्कालीन गृहमन्त्रीको यो सार्वजनिक प्रष्टीकरणले आन्दोलनका क्रममा भएका विवादास्पद घटनाहरूको जिम्मेवारी कसको थियो भन्ने बहसलाई थप पेचिलो बनाइदिएको छ ।


सम्बन्धित समाचार
भर्खरै