राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी यसपटक प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको बन्द सूचीबाट बाहिरिनुभएको छ ।
सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा लोहनीलाई सूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा भएको आन्तरिक मतदानमा उहाँ पराजित हुनुभएको हो । पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार मतदानमा लोहनीको पक्षमा १४ मत मात्रै खसेको थियो भने विपक्षमा १८ मत परेपछि उहाँको नाम सूचीबाट हटाइएको हो। पार्टीले ुनयाँलाई अवसरु दिने नीति लिएका कारण लोहनी जस्ता पाका नेताले यसपटक बाटो छाड्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
पार्टीभित्र लोहनीको उम्मेदवारीलाई लिएर निकै समय विवाद र बहस चलेको थियो । राप्रपाले गत मंसिर २८ गते नै एक सर्कुलर जारी गर्दै २०६४ सालको संविधानसभा निर्वाचनयता समानुपातिकतर्फबाट सांसद बनिसकेका व्यक्तिलाई पुनः अवसर नदिने मापदण्ड बनाएको थियो । डा. लोहनी यसअघि नै समानुपातिक सांसद भइसकेका कारण उहाँलाई यो मापदण्डले रोकेको हो ।
यद्यपि, लोहनीले आफू विगतमा ‘राष्ट्रिय जनशक्ति पार्टीबाट सांसद बनेकाले अहिलेको राप्रपामा त्यो मापदण्ड लागू हुन नहुने तर्क गर्दै आफ्नो दाबी पेस गर्नुभएको थियो । तर, बैठकमा सहभागी बहुसंख्यक सदस्यहरूले पार्टीको नीति सबैका लागि समान हुनुपर्ने अडान राखेपछि मतदानको प्रक्रिया अपनाइएको थियो ।
राप्रपाले यसपटक ‘जेनजी आन्दोलन’ को मर्मलाई आत्मसात् गर्दै युवा र नयाँ अनुहारलाई प्राथमिकता दिने घोषणा गरेको छ । सोही कारण, पटक(पटक राजकीय सुविधा र संसदीय भूमिका पाइसकेका शीर्ष नेताहरूलाई प्रत्यक्ष निर्वाचनमा जान वा नयाँ पुस्ताका लागि ठाउँ खाली गरिदिन नेतृत्वले दबाब दिँदै आएको छ ।
डा.लोहनी जस्तो कडा र प्रभावशाली व्यक्तित्व आन्तरिक चुनावबाटै बाहिरिनुलाई राप्रपाभित्रको फेरिएको आन्तरिक शक्ति सन्तुलन र युवा नेतृत्वको बढ्दो प्रभावका रूपमा विश्लेषण गरिएको छ ।















