Logo

१४ पुष, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेसहितको टोलीले सोमबार साँझ आयोगमा सूची पेश गरेको हो।

सूची बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पाण्डेले यसपटक विगतमा अवसर पाइसकेका नेता तथा कार्यकर्तालाई समानुपातिक सूचीमा नराखिएको जानकारी दिए। उनका अनुसार विगतमा समानुपातिकबाट निर्वाचित, मन्त्री भइसकेका तथा प्रत्यक्ष निर्वाचनबाट सांसद बनेकाहरूलाई समानुपातिक सूचीमा समावेश नगरिएको छ।

पाण्डेले पार्टीले कुल ११० जनाको समानुपातिक उम्मेदवार सूची बुझाएको स्पष्ट पार्दै युवा पुस्तालाई विशेष प्राथमिकता दिइएको बताए। संविधान र निर्वाचन कानूनले व्यवस्था गरेअनुसार आदिवासी–जनजाति, महिला, दलित, मधेसी, थारू तथा खसआर्य सबै क्लस्टरबाट समावेशी ढंगले उम्मेदवार चयन गरिएको उनको भनाइ छ।

सञ्चारकर्मीको प्रश्नमा नेता पाण्डेले आगामी निर्वाचनमा आवश्यकताअनुसार अन्य दलसँग सहकार्य गर्न नेकपा तयार रहेको बताए। देश, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सहकार्यको सम्भावना खुला रहेको उनले उल्लेख गरे।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १६ वामपन्थी घटकबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो।


सम्बन्धित समाचार