Logo

१४ पुस, काठमाडौं । नेकपा ९एमाले० ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारी, केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यसहितको टोलीले सोमबार साँझ आयोग पुगेर ११० जनाको बन्दसूची बुझाएको हो।

बन्दसूची बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन विभाग प्रमुख आचार्यले पार्टीले तीन पुस्ताको सन्तुलित संयोजनका आधारमा सूची तयार गरेको बताए। “एमालेले पुरानो, मध्यम र नयाँ उदीयमान पुस्तालाई समेटेर सूची बुझाएको छ। ४० वर्ष मुनिका युवापुस्तालाई पनि पर्याप्त स्थान दिइएको छ,” उनले भने।

उनले अपाङ्गता भएका व्यक्ति, पिछडिएका वर्ग, मधेशी, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई समावेशी ढंगले प्रतिनिधित्व गरिएको दाबी गरे। “चेपाङ, पोडे, शेर्पादेखि मधेशी तथा पिछडिएका समुदायलाई प्राथमिकताका साथ सूचीमा समेटिएको छ,” आचार्यले बताए। साथै उनले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग आग्रहसमेत गरे।

एमालेको बन्दसूचीमा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव पद्मा अर्याल, पूर्व राष्ट्रियसभा सदस्य कोमल ओली, डा। पुष्प कँडेल, गुरु बराल, गोरखबहादुर बोगटीलगायत पुरानो पुस्ताका नेताहरू समेटिएका छन्।

नयाँ तथा उदीयमान पुस्ताबाट निता घतानी, क्रान्ति बुर्लाकोटी, भूमिका सुब्बा, भक्तकुमारी लामा, अनिता कन्दङ्वा, साजिदा सिद्धिकी लगायतका नाम समावेश छन्।

महिला प्रतिनिधित्वतर्फ पद्मा अर्याल, टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका लिम्बु, मिना बराम, मनकुमारी तितुङ, माया देवी पोडेनीलगायत रहेका छन्।

अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा र यसुदा बराललाई समानुपातिक सूचीमा राखिएको छ। दलित क्लस्टरबाट निर्मल दउला र जितु गौतम परेका छन् भने अल्पसंख्यकतर्फ रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ र इच्छा चौधरीलाई समेटिएको छ।

यसरी एमालेले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको जनाएको छ।


सम्बन्धित समाचार