Logo

१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेसहितको टोलीले सोमबार साँझ आयोग पुगेर बन्दसूची पेश गरेको हो।

बन्दसूचीअनुसार खस–आर्य क्लस्टरतर्फ पहिलो नम्बरमा प्रमेश हमाललाई राखिएको छ। नेकपा गठनअघि उनी नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता थिए। यसअघि संघीय वा प्रदेश सांसद भइसकेका तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेकालाई समानुपातिक सूचीमा नराख्ने पार्टीको मापदण्डका कारण हमाल खस–आर्यतर्फ सबैभन्दा सिनियर नेताका रूपमा पहिलो नम्बरमा परेका हुन्।

पार्टी स्रोतका अनुसार, “संघ र प्रदेश सांसद भइसकेकालाई समानुपातिकमा नसमेट्ने निर्णयले धेरै पुराना नेताहरू सूचीबाहिर पर्नुभएको छ। त्यसपछि समानुपातिक सूचीमा पर्ने खस–आर्यतर्फ प्रमेश हमाल नै सबैभन्दा वरिष्ठ नेता बन्नुभएको हो।” खस–आर्य पुरुषतर्फ गोविन्दराज पौडेल पनि सूचीमा रहेका छन्।

दलित क्लस्टरतर्फ गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातितर्फ भगवतकुमार श्रेष्ठ र महिला क्लस्टरतर्फ दिलुकुमारी पन्तलाई प्राथमिकतामा राखिएको छ। यस्तै ताजमोहमद मिया, अरुणा बस्नेत, दीपक जंघम, कमलराय यादव, श्रीप्रसाद साह, सरद रसाइली, डा। मित्र परियार, राममणि पोखरेललगायतका नाम पनि बन्दसूचीमा समावेश छन्।

निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पाण्डेले संविधान र निर्वाचन कानूनले व्यवस्था गरेका सबै क्लस्टर—आदिवासी जनजाति, महिला, दलित, मधेसी, थारू र खस–आर्य—अनुसार उम्मेदवार छनोट गरिएको बताए। “हामीले विगतमा समानुपातिकबाट निर्वाचित भएका, मन्त्री भइसकेका र प्रत्यक्ष सांसद भइसकेकाहरूलाई पुनः समानुपातिकमा नल्याउने निर्णय गरेका छौँ,” उनले भने, “यसपटक युवा पुस्तालाई पनि विशेष ध्यान दिइएको छ।”

राजनीतिक सहकार्यबारे सञ्चारकर्मीको प्रश्नमा पाण्डेले देश, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्ने विषयमा सबै दलसँग सहकार्य हुन सक्ने बताए। आगामी निर्वाचनमा आवश्यक परे सहकार्य गरेर अघि बढ्न नेकपा तयार रहेको उनको भनाइ थियो।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १६ वटा वामपन्थी घटकबीच एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो।


सम्बन्धित समाचार