Logo

१५ पौष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा परम्परागत राजनीतिक अनुहारभन्दा फिल्म, संगीत र ब्यूटी पेजेन्ट क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति देखिएको छ । ११० जनाको नामावलीमा मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरू समेटिएपछि राजनीतिक वृत्तमा व्यापक चर्चा र बहस सुरु भएको छ ।

रास्वपाको सूचीमा पूर्व मिस नेपालदेखि गायक, अभिनेता र टेलिभिजन कार्यक्रम सञ्चालकसम्म समावेश छन् । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट चौथो स्थानमा परेकी छन् । दलित क्लस्टरमा गायक तथा अभिनेता प्रकाश सपुत दोस्रो स्थानमा रहँदा, पहिलो स्थानमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे छन्, जो पेशाले चिकित्सकसमेत हुन् ।

त्यस्तै, दलित महिला क्लस्टरबाट टेलिभिजन कार्यक्रम होस्ट, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा पहिलो स्थानमा अटाएकी छन् । मुस्लिम क्लस्टरबाट गायक, अभिनेता तथा टिभी होस्ट आसिफ शाह पहिलो स्थानमा परेका छन् । चर्चित गायिका सत्यकला राई र त्रिशला गुरुङको नाम पनि समानुपातिक सूचीमा समेटिएको छ ।

सोमबार रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समूहसँग सहकार्य गर्दै ११० जनाको नामावली निर्वाचन आयोगमा बुझाएको हो । रास्वपासँग एकता हुनुअघि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले क्यूएफएक्स प्रमुख नकिम उद्दिनसहित केही कलाकारको नाम सिफारिस गरेको थियो । तर अन्तिम रूपमा पेस गरिएको सूचीमा ती नामहरू समावेश गरिएका छैनन् ।

रास्वपाले विभिन्न क्षेत्रका परिचित र प्रभावशाली व्यक्तित्वलाई समेटेर राजनीतिमा नयाँ ऊर्जा र जनसमर्थन विस्तार गर्ने रणनीति अपनाएको विश्लेषण गरिएको छ । यद्यपि, राजनीतिक अनुभवभन्दा सेलिब्रेटी पहिचानलाई प्राथमिकता दिइएको भन्दै आलोचना पनि सुरु भएको छ । समानुपातिक प्रणालीमार्फत संसद्मा नयाँ अनुहार प्रवेश गराउने र प्रतिनिधित्वलाई फराकिलो बनाउने रास्वपाको दाबी कत्तिको सफल हुन्छ भन्ने विषय आगामी निर्वाचनपछि स्पष्ट हुने देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै