१५ पुष, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी सरगर्मी बढेसँगै समानुपातिकतर्फको उम्मेदवारी दर्ताको विवरण सार्वजनिक गरेको छ ।
आयोगमा दर्ता भएका कुल एक सय दलमध्ये ६४ वटा राजनीतिक दलले मात्रै समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाएका छन् । सोमबार र मंगलबारको निर्धारित समयभित्र यी दलहरूले प्रतिनिधिसभाको ११० सिटका लागि देशभरबाट कुल तीन हजार चार सय २४ जना उम्मेदवारहरूको नामावली पेश गरेका हुन् । आयोगका अनुसार दर्ता भएका धेरै दलहरू चुनावी प्रतिस्पर्धामा उत्रिए पनि केही दलहरूले भने प्राविधिक वा अन्य कारणले सूची बुझाउन सकेनन् ।
यस पटकको निर्वाचनमा दलहरूबीचको गठबन्धन र चुनावी तालमेलको रोचक दृश्य समेत देखिएको छ । ६४ वटा दल चुनावी मैदानमा रहे तापनि उनीहरूले ५८ वटा चुनाव चिह्न मात्र प्रयोग गर्ने भएका छन्। आयोगको तथ्याङ्क अनुसार ५४ वटा दल आफ्नै छुट्टाछुट्टै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछन् भने १० वटा साना दलहरूले भने आपसी सहमतिमा चारवटा साझा चुनाव चिह्न प्रयोग गरेर निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । यसले निर्वाचनमा दलहरूको संख्या धेरै भए पनि मतपत्रमा चुनाव चिह्नको व्यवस्थापनमा केही सहजता हुने देखिएको छ ।
समानुपातिक सूची बुझाउने प्रमुख दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस बीपी, नेकपा माओवादी, राप्रपा र जनमत पार्टी लगायत रहेका छन् । त्यस्तै नेपाल श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेकपा संयुक्त, नेपाली जनता दल, जय मातृभूमि पार्टी, सार्वभौम पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संयुक्त नागरिक पार्टी, राष्ट्र निर्माण पार्टी र राष्ट्रिय जनता पार्टीले पनि आफ्नो बन्द सूची आयोगमा दर्ता गराएका छन् ।
यसैगरी नेपाल मातृभूमि पार्टी, मितेरी पार्टी, जनअधिकार पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, संसदीय लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल जस्ता दलहरू पनि ११० सिटको प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगले अब यी सूचीहरूको कानुनी र प्राविधिक जाँचबुझ गरी प्रक्रिया अगाडि बढाउने जनाएको छ ।















