Logo

१५ पुष, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमा देखिने गरेका अराजक र विचारविहीन प्रवृत्तिप्रति कडा प्रहार गर्दै यसलाई इतिहास र त्यागको अपमानको रूपमा चित्रण गर्नुभएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उहाँले कुनै इतिहास, त्याग र बलिदान नभएका शक्तिहरूले सामाजिक सञ्जालको सहारामा ‘देशै कब्जा गरिसक्यौं’ भन्ने झुटो र भ्रमपूर्ण होहल्ला फैलाइरहेको टिप्पणी गर्नुभयो ।

दशकौँ लामो संघर्ष र कीर्तिमानी आन्दोलनबाट स्थापित राजनीतिक शक्तिहरूलाई बदनाम गर्ने कुत्सित मनसायका साथ सहर–बजारका केही मानिसहरू यस्तो सस्तो लोकप्रियतामा रमाइरहेको भन्दै उहाँले ती प्रवृत्तिहरू विचार र निष्ठाको कसीमा शून्य रहेको दाबी गर्नुभयो।

सम्बोधनका क्रममा संयोजक प्रचण्डले सूचना प्रविधिको वर्तमान युगमा कृत्रिम बौद्धिकता र सामाजिक सञ्जालको शक्ति प्रतिक्रियावादी र वैदेशिक साम्राज्यवादी शक्तिहरूको नियन्त्रणमा रहेको भन्दै गम्भीर चासो व्यक्त गर्नुभयो । मानिसहरूले मोबाइल र प्रविधि आफैँले चलाइरहेको महसुस गरे पनि यसको वास्तविक स्वामित्व र प्रभुत्व प्रतिगामी शक्तिहरूमै रहेकाले उनीहरूले चाहेअनुसार नै सूचनाको प्रवाह भइरहेको उहाँको तर्क थियो । उहाँले नयाँ प्रविधिलाई जनविरोधी शक्तिहरूले हतियार बनाइरहेको अवस्थामा सचेत रहन आग्रह गर्दै लामो इतिहास बोकेका पार्टीहरू सकिए भन्ने भ्रम जनताले कहिल्यै स्वीकार नगर्ने जिकिर गर्नुभयो ।

रुुकुमदेखि १५ दिनको पैदल यात्रा गरी काठमाडौँ आइपुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान गर्दै प्रचण्डले जनताको वास्तविक आकर्षण अझै पनि कम्युनिष्ट विचार र आन्दोलनप्रति नै रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा देखिएको होहल्लालाई नै ‘मुक्तिदाता’ ठानेर भ्रममा नपर्न आह्वान गर्दै जनताको अधिकारका लागि लडेका शक्तिहरूलाई कमजोर पार्ने कुनै पनि प्रविधिको जालझेल सफल नहुने विश्वास व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार