Logo

१५ पुष, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको भू–राजनीतिक संवेदनशीलताका कारण मुलुकमा विदेशी शक्तिहरूको चलखेल बढ्दै गएको दाबी गर्नुभएको छ ।

मंगलबार राजधानीको थापागाउँमा आयोजित मोरङ समाज काठमाडौँको साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपाल उत्तर र दक्षिणका दुई विशाल छिमेकीको बीचमा सामरिक महत्त्वको स्थानमा रहेकाले छिमेकी राष्ट्रका साथै विश्वका शक्तिशाली मुलुकहरूको सक्रियता रहनु स्वाभाविक भएको जिकिर गर्नुभयो । नेपालको भौगोलिक अवस्थितिलाई विश्वकै दुर्लभ र रणनीतिक स्थानका रूपमा चित्रण गर्दै नेता कोइरालाले यहाँ वैदेशिक चलखेल छैन भनेर आँखा चिम्लन नमिल्ने यथार्थ स्पष्ट पार्नुभयो ।

कोइरालाले विदेशी शक्तिहरूको नेपालप्रति चासो मात्र नभई चिन्ता समेत रहेको उल्लेख गर्दै नेपाली राजनीतिज्ञहरूको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो । उहाँका अनुसार विदेशी कूटनीतिज्ञहरूको मुख्य गुनासो नेपाली नेताहरू जनता र विदेशी शक्ति दुवैप्रति इमानदार नभएकोमा रहेको छ । विदेशीहरूले नेपाली नेताहरूलाई पटक–पटक जनताप्रति संवेदनशील हुन, राम्रो काम गर्न र कूटनीतिक मामिलामा झुक्याउने खेल बन्द गर्न सुझाव दिने गरेको खुलासा गर्दै उहाँले नेताहरू केवल आफ्नो व्यक्तिगत स्वार्थ र सत्ता टिकाइराख्ने दाउपेचमा लाग्दा मुलुकको साख गिरेको टिप्पणी गर्नुभयो ।

राजनीतिक नेतृत्वमा आत्मबल र इमानदारिताको खडेरी परेको संकेत गर्दै डा.कोइरालाले अब बन्ने सरकारहरूले पद्धति सुधार्ने विश्वास दिलाउनुभयो । उहाँले भावी सरकारले गलत काम गर्नेहरूलाई दण्डित गर्ने र स्वार्थकेन्द्रित राजनीतिलाई भन्दा जनहितलाई प्राथमिकतामा राख्ने दाबी गर्नुभयो । आफूहरूमा दृढ आत्मबल र विश्वास रहेको भन्दै कोइरालाले आगामी दिनमा दण्डहीनताको अन्त्य गरी सुशासन कायम गर्ने दिशामा ठोस कदम चालिनेमा ढुक्क हुन आम नागरिकलाई आग्रह समेत गर्नुभयो ।


सम्बन्धित समाचार