Logo

१५ पुष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय विकसित राजनीतिक ध्रुवीकरण र नयाँ शक्तिहरूको एकतालाई निकै आक्रामक शैलीमा टिप्पणी गरेका छन् ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको एक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र बालेन शाहबीचको सहकार्यलाई दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिएका हुन् । उनले यस्ता शक्तिहरूको एकतालाई व्यङ्ग्य गर्दै बाख्रा, कुखुरा र स्यालले मोर्चाबन्दी गरेर केही नहुने दाबी समेत गरे । ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा गर्न सम्भव हुन्छ?’ भन्दै उनले एमाले र कांग्रेस जस्ता विशाल शक्तिहरूसँग यी नयाँ समूहको तुलना हुन नसक्ने तर्क गरेका छन् ।

अध्यक्ष ओलीले नेकपा एमालेको हालै सम्पन्न ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको उल्लेख गर्दै एमालेसँग जनअनुमोदित नेतृत्वको बलियो टिम रहेको बताए । लोकप्रियता र अलोकप्रियताका कृत्रिम भाष्यहरू निर्माण गरेर एमालेलाई कमजोर देखाउन खोजिएकोमा महाधिवेशनले त्यसको कडा जवाफ दिएको उनको भनाइ थियो ।

कतिपयले निर्वाचन अगावै प्रधानमन्त्री नै घोषणा गरिसकेको सन्दर्भमा ओलीले देशमा को साँच्चिकै लोकप्रिय छ भन्ने कुराको अन्तिम फैसला आगामी निर्वाचनले गर्ने चुनौती दिए । महाधिवेशनले एमाले चुनावका लागि पूर्ण रूपमा तयार छ भन्ने सन्देश दिएको र अबको राष्ट्रिय फैसला निर्वाचनबाटै आउनेमा ओलीले जोड दिए ।


सम्बन्धित समाचार