Logo

१५ पुष, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन वा पुनर्लेखन नगरिए त्यसलाई च्यातेर नयाँ संविधान जारी गर्ने चेतावनी दिएका छन्।

मंगलबार वीरगन्जमा आयोजित जनप्रदर्शन तथा विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसी, जनजाति र अल्पसंख्यक विरोधी भनिएको अहिलेको संविधान सुधारका लागि आफ्नो पार्टीले फेरि आन्दोलन गर्ने घोषणा गरे।

“संविधान पुनर्लेखनका लागि जसपा नेपालले फेरि आन्दोलन गर्छ,” यादवले भने, “यदि आन्दोलन गर्दा पनि सुनुवाइ भएन भने यो संविधान च्यातेर अर्को जारी गर्न बाध्य पारिनेछ।”

आगामी फागुन २१ गते हुने निर्वाचन अगावै संविधान संशोधन वा पुनर्लेखन गरिनुपर्ने उनको माग छ। सरकार र ‘जेनजी’ प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता निर्वाचन अगावै लागू हुनुपर्ने उनले बताए। यादवले भ्रष्टाचार नियन्त्रण र सुशासनका एजेन्डाहरू आफ्नो पार्टीले पहिलेदेखि नै उठाउँदै आएको दाबी गरे।

 मधेसी जनतालाई जस्तै अहिलेको सरकारले युवा पुस्ता (जेनजी) लाई पनि धोका दिइरहेको उनले आरोप लगाए। उनले भने, “सरकारले युवाहरूको रगत र बलिदानमाथि मजाक गरिरहेको छ।”

अध्यक्ष यादवले विगत ३५ वर्षदेखि सत्तामा रहेका कांग्रेस र कम्युनिस्टका कारण देश बर्बाद भएको टिप्पणी गरे। उनीहरूले केवल ‘लुटतन्त्र’ मच्चाएको र यसै कारण देशको अर्थतन्त्र, उद्योग र शिक्षा-स्वास्थ्य क्षेत्र धराशायी भएको उनको भनाइ थियो।

मधेस आन्दोलनबाट प्राप्त संघीयता र लोकतन्त्र जस्ता उपलब्धिहरू मास्न ठूला दलहरू लागेको भन्दै ती उपलब्धि जोगाउन नै आफूहरू निर्वाचनमा सहभागी हुन लागेको उनले प्रस्ट पारे।


सम्बन्धित समाचार