Logo

१६ पुष, वीरगंज । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिको संयोजक पदमा वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन्।

महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई उक्त जिम्मेवारी प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका नेपालका अनुभव, निष्ठा र व्यावसायिकतालाई कदर गर्दै उनलाई संयोजकको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ।

समितिको मुख्य दायित्व महानगरपालिका र सञ्चारमाध्यमबीच समन्वय सुदृढ गर्नु, सूचना प्रवाहलाई प्रभावकारी बनाउनु तथा आमसञ्चार क्षेत्रको नियमनसम्बन्धी विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ।

महानगरका अनुसार सञ्चार क्षेत्रको राम्रो बुझाइ, सबै सरोकारवालासँग समन्वय गर्न सक्ने क्षमता र अनुभवयुक्त व्यक्तिको आवश्यकता रहेकाले नेपाललाई संयोजक नियुक्त गरिएको हो।

यसअघि उक्त समितिको संयोजकको जिम्मेवारी ध्रुव अधिकारी तथा तत्कालीन मेयर विजयकुमार सरावगीको कार्यकालमा गोविन्द देवकोटाले सम्हालेका थिए। देवकोटाको नेतृत्वकालमा महानगरपालिकाले स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने नीति लागू गर्नुका साथै आमसञ्चार प्रवर्द्धनसम्बन्धी कानून निर्माण गरेको थियो।


सम्बन्धित समाचार
भर्खरै