१८ पुष, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः एकपटक नयाँ रेकर्ड कायम गर्ने दिशामा फड्को मारेको छ ।
पछिल्लो समय उतारचढावपूर्ण रहेको सुनको भाउमा शुक्रबार ठूलो वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा २९०० रुपैयाँले महँगिएको छ ।
बिहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज भारी बढोत्तरी भई २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा आएको फेरबदल र लगानीकर्ताहरूको आकर्षण सुरक्षित लगानीतर्फ मोडिएका कारण स्थानीय बजारमा पनि यसको सिधै प्रभाव परेको व्यवसायीहरूको विश्लेषण छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ४ हजार ५२५ रुपैयाँ कायम भएको छ । विगत केही महिनादेखि लगातार उकालो लागिरहेको सुनको मूल्यले उपभोक्ताको क्रयशक्तिमा ठूलो असर पारेको छ ।
विवाहको सिजन नजिकिँदै गर्दा भएको यो मूल्यवृद्धिले सर्वसाधारण र गहना व्यवसायी दुवैलाई चिन्तित तुल्याएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको माग र आपूर्तिमा देखिएको असन्तुलनले आगामी दिनमा मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।















