Logo

२४ पुष, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र व्यवस्थित बनाउन नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

सेनाले यसपटकको निर्वाचनमा ८० हजार सैनिकलाई प्रत्यक्ष रूपमा मैदानमा उतार्ने भएको हो । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ‘एकीकृत सुरक्षा योजना २०८२’ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले सोही योजनाअनुरूप मतदानको एक महिना अघिदेखि नै सेना फिल्डमा खटिनेछ । निर्वाचन सुरक्षाको यो विशेष योजनाले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन मार्गनिर्देशन गर्ने विश्वास लिइएको छ ।

सेनाले निर्वाचन सुरक्षालाई तीन चरणमा विभाजन गरी आफ्नो जिम्मेवारी सम्हाल्ने रणनीति बनाएको छ ।  पहिलो चरणमा निर्वाचनपूर्वको तयारीअन्तर्गत मतपत्र छपाइको सुरक्षादेखि देशभरका महत्वपूर्ण भौतिक संरचना, विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाको काँधमा रहनेछ । यसका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनसँगको समन्वयमा तल्लो तहसम्म एकीकृत तालिम र सुरक्षा अभ्यासहरू सञ्चालन गरिनेछ । मतदानको दिन भने नेपाली सेना ‘तेस्रो घेरा’ मा रहेर राजनीतिक दल, उम्मेदवार, मतदाता र कर्मचारीहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन खटिने प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

मतदान प्रक्रिया सम्पन्न भएपछि पनि सेनाको भूमिका महत्वपूर्ण रहनेछ। मतपेटिकाको सुरक्षित ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सेनाले नै पूरा गर्नेछ । निर्वाचनलाई लक्षित गरी देशका विभिन्न रणनीतिक स्थानहरूमा सुरक्षा बेसहरू स्थापना गर्ने कार्य भइरहेको छ भने हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन गरी वस्तुस्थितिको विश्लेषण भइरहेको छ ।

राज्यको प्राथमिक कार्यभारको रूपमा रहेको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनसँग सहकार्य गर्दै आफूहरू पूर्ण रूपमा तयार रहेको सेनाले स्पष्ट पारेको छ।


सम्बन्धित समाचार