Logo

२४ पुष, काठमाडौं । अमेरिका र भेनेजुएलाबीच बढ्दो सैन्य तथा राजनीतिक तनावका बीच नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

अमेरिकी सेनाले भेनेजुएलामा कारबाही गरी राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई नियन्त्रणमा लिएपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय शक्तिहरूलाई अधिकतम संयमता अपनाउन र तनाव थप चर्काउने खालका कुनै पनि उत्तेजक कदम नचाल्न विशेष आग्रह गरेको छ ।

नेपालले आफ्नो धारणा सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित प्रावधानहरूको पूर्ण पालना हुनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा कुनै पनि सार्वभौम राष्ट्रको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गरिनुपर्ने उल्लेख गर्दै वैदेशिक हस्तक्षेपको अप्रत्यक्ष विरोध गरिएको छ । नेपाल सरकारले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य शक्तिले सैन्य हस्तक्षेप गर्नु विश्व शान्तिका लागि चुनौतीपूर्ण हुने संकेत गर्दै अन्तर्राष्ट्रिय कानुनको मर्यादा राख्न सबै पक्षलाई सचेत गराएको छ ।

मन्त्रालयले जुनसुकै जटिल राजनीतिक विवादको समाधान पनि संवाद, कूटनीति र आपसी समझदारीबाट मात्र सम्भव हुने स्पष्ट पारेको छ । विश्वका विभिन्न शक्ति राष्ट्रहरूले यस घटनालाई लिएर पक्ष–विपक्षमा धारणा राखिरहेका बेला नेपालले भने शान्तिपूर्ण माध्यमबाट समाधान खोजिनुपर्ने आफ्नो असंलग्न परराष्ट्र नीतिको अडानलाई पुनः दोहोर्‍याएको छ । नेपालले यस संकटपूर्ण घडीमा भेनेजुएलाको आन्तरिक स्वायत्तता र त्यहाँका जनताको सार्वभौम अधिकारलाई सुरक्षित राख्दै समस्याको कूटनीतिक निकास खोज्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।


सम्बन्धित समाचार