२४ पुष, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले अहिले चरम रूप लिएको छ, जसका कारण पार्टी स्पष्ट रूपमा दुई धारमा विभाजित हुने खतरा बढेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षले त्यसलाई असफल तुल्याउन समानान्तर रणनीतिको घोषणा गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बिहीबार बसेको संस्थापन पक्षका शीर्ष नेता तथा भ्रातृ संगठनका पदाधिकारीहरूको बैठकले विशेष महाधिवेशनकै दिन अर्थात् पुस २७ गते पार्टी कार्यालय सानेपामा युवा–विद्यार्थी भेला गर्ने निर्णय गरेको हो । यस काउन्टर भेलाको संयोजन गर्ने जिम्मेवारी तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई दिइएको छ भने २८ गते जिल्ला सभापतिहरूको भेला गर्ने तयारी समेत गरिएको छ ।
पार्टीभित्र बढ्दै गएको यो दूरीले विभाजनको मोड लिन सक्ने भन्दै नेता डा.शेखर कोइरालाले सहमतिको अन्तिम प्रयास स्वरूप सक्रियता बढाएका छन् । बिहीबार बिहानै देउवा निवास पुगेका कोइरालाले सभापति देउवालाई भेटेर पार्टी बचाउन लचक बन्न र अभिभावकीय भूमिका खेल्न आग्रह गरेका छन् । उनले अहिलेको अवस्थामा को नेता बन्ने भन्ने प्रतिस्पर्धा भन्दा पनि पार्टीको एकता जोगाउनु प्रमुख आवश्यकता रहेकोमा जोड दिएका थिए ।
यद्यपि, संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यसमा सहभागी नहुन आफ्ना कार्यकर्तालाई ह्विप जारी गरिसकेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधानविपरीतका गतिविधिमा संलग्न हुनेलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिइरहेका बेला शेखरको यो मध्यमार्गी प्रयासलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसैबीच, विकसित पछिल्लो राजनीतिक घटनाक्रम र बढ्दो गुटबन्दीबारे औपचारिक निर्णय लिन कांग्रेसले आजै अपराह्न ४ बजे केन्द्रीय कार्यसम्पादन समिति को आकस्मिक बैठक बोलाएको छ । एकातिर ललितपुर र उदयपुर जस्ता जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको पक्षमा जुलुस निकाल्ने र प्रतिनिधि पठाउने निर्णय गरिसकेका छन् भने अर्कोतिर संस्थापन पक्षले आफ्ना सबै शक्ति परिचालन गरेर उक्त महाधिवेशनलाई छायामा पार्ने रणनीति बुनेको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी भइरहँदा सानेपामा हुने युवा भेलाले कांग्रेसभित्रको शक्ति संघर्षलाई सडकदेखि केन्द्रसम्मै छताछुल्ल बनाइदिएको छ । कार्यसम्पादन समितिको बैठकले यो संकट टार्न कस्तो सूत्र निकाल्छ भन्नेमा अहिले सबैको चासो केन्द्रित छ ।















