२५ पौष, काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया र आगामी राजनीतिक दिशालाई लिएर उत्पन्न विवादका बीच उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
मन्त्री पदबाट बाहिरिएसँगै घिसिङले रास्वपासँगको एकता प्रक्रियाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै आफ्नै नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ (उनेपा) लाई पुनः सक्रिय बनाउने सङ्केत गरेका छन् ।
राजीनामा दिनुअघि घिसिङले बुधबार दिनभर आफ्नै पूर्ववत पार्टी ‘उज्यालो नेपाल’का नेताहरूसँग परामर्श गरेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार घिसिङले रास्वपासँगको एकतालाई ’हतारमा गरिएको गल्ती’ को रूपमा स्वीकार गरेका छन् ।
“रास्वपामा जानुभन्दा नजाँदा राम्रो हुने उनको निष्कर्ष छ,“ ती नेताले भने, “समानुपातिक उम्मेदवारको छनोट, पदाधिकारी चयन र अन्यायपूर्ण भागबण्डाले उनको चित्त दुखाएको देखिन्छ । अब आफ्नै हिसाबले अघि बढ्नुपर्छ भन्ने उनको दृढता छ।“
पुस १४ गते काठमाडौँका मेयर बालेन्द्र शाहको रोहबरमा रास्वपा सभापति रवि लामिछानेसँग ७ बुँदे सहमति गरे पनि घिसिङले बुधबारको पत्रकार सम्मेलनमा आफूले हालसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको स्पष्ट गरे । उनले भने, “सहमतिमा मेरो नाम उल्लेख भए पनि त्यो हालसम्म कार्यान्वयनमा आएको छैन।“
निर्वाचन आयोगमा समानुपातिक सूची सच्याउने समय (माघ २७ गते) बाँकी नै रहेकाले घिसिङले प्रत्यक्ष निर्वाचनमा मात्र केन्द्रित हुने वा अन्य कुनै दलसँग मिलेर अघि बढ्ने विकल्पमा समेत छलफल थालेका छन् । यद्यपि, उनेपाका नेताहरूको आग्रहमा उनी रास्वपा सभापति रवि लामिछानेसँग एकपटक अन्तिम ’निर्णायक संवाद’ गर्न भने राजी भएका छन् ।
रवि लामिछानेको दाबीः ’एकता कार्यान्वयन हुन्छ’
यता रास्वपा सभापति रवि लामिछानेले भने घिसिङसँगको एकता टुट्ने कुरालाई अस्वीकार गरेका छन् । बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले भने, “सरकारमा रहेकाले केही प्राविधिक कठिनाइ थिए, अब उनी राजीनामा दिए । अब सहमतिलाई पार्टीले औपचारिक रूप दिने प्रक्रिया अघि बढ्छ।“
संशयको घेरामा बालेन,रवि र कुलमान समीकरण
उज्यालो नेपाल पार्टीका नेता जीतराम वाइबाका अनुसार रास्वपाको अस्थिर व्यवहारले शंका उब्जाएको छ । “बालेन र रवि मिलेपछि सबै भइहाल्छ भन्ने सोचिएको हो कि भन्ने भान हुन्छ, तर व्यावहारिक रूपमा समन्वय देखिएन,“ वाइबाले टिप्पणी गरे ।
गएको पुस १४ मा आफ्नै पार्टीका नेताहरूलाई जानकारी नदिई रवि र बालेनसँग एकतामा हस्ताक्षर गर्दा आलोचित बनेका घिसिङ अहिले आफैँ उक्त निर्णयबाट पछि हट्ने मनस्थितिमा पुग्नुले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।















