२५ पुष, काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादले पार्टी विभाजनको खतरा बढाएको भन्दै संस्थापन पक्षीय नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा बसेको संस्थापन समूहको विशेष छलफलले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तावित विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ धकेल्ने निष्कर्ष निकालेको हो । कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद र वीरबहादुर बलायरसहितका प्रभावशाली नेताहरू सम्मिलित यस भेलाले पार्टीलाई सम्भावित फुटबाट जोगाउन विशेष महाधिवेशन रोक्न र एकताको बाटो रोज्न आह्वान गरेको छ ।
छलफलको जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले वर्तमान भू–राजनीतिक अवस्था र राष्ट्रिय राजनीतिको संवेदनशीलताका बीच कांग्रेस कमजोर हुनु लोकतन्त्रकै लागि घातक हुने बताउनुभयो । उहाँका अनुसार इतिहासको कठिन मोडमा उभिएको पार्टीलाई केही तत्वहरूले योजनाबद्ध रूपमा कमजोर बनाउन खोजिरहेकाले त्यसलाई रोक्नु सबै कार्यकर्ताको दायित्व हो । विशेषको नाममा हुन लागेको समानान्तर गतिविधिलाई निस्तेज पार्न र देशभरका नेताकार्यकर्तालाई भावनात्मक रूपमा एकतावद्ध बनाउन यो समूहले सक्रियता बढाउने निर्णय गरेको छ ।
पार्टीभित्र बढ्दो मुठभेडलाई रोक्न संस्थापन पक्षले पुस २७ गते नै युवा र जिल्ला सभापतिहरूको भेला बोलाएको छ । महामन्त्रीद्वयले सोही दिन भृकुटीमण्डपमा विशेष महाधिवेशनको आयोजना गरेपछि परिस्थिति थप तनावपूर्ण बनेको छ । बानेश्वर भेलाले विशेष महाधिवेशनका पक्षधरहरूलाई पनि पार्टीको हित र एकताका लागि आफ्नो जिद्दी छोडेर संवादमा आउन आग्रह गरेको छ ।
जीतजंग बस्नेत, लक्ष्मी खतिवडा र गणेश लामालगायतका नेताहरू सहभागी यस छलफलले अबको संघर्ष मुठभेडका लागि नभई कांग्रेसलाई एकढिक्का राख्नका लागि हुने स्पष्ट पारेको छ ।















