Logo

२५ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक उम्मेदवार चयनलाई लिएर चुलिएको विवादले शुक्रबार उग्र रूप लिएको छ ।

पार्टीका केही महिला नेतृहरूले समानुपातिक सूचीमा परिवारवाद र अवसरवाद हाबी भएको आरोप लगाउँदै धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अनशन सुरु गरेका छन् । उनीहरूले खासगरी पार्टी उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा र केन्द्रीय सदस्य खुश्बु ओलीको नाम समानुपातिक सूचीबाट हटाउनुपर्ने मुख्य माग राखेका छन् । सो क्रममा कार्यालय परिसरमा पार्टीका नेता र आन्दोलनरत पक्षबीच केहीबेर चर्काचर्की समेत भएको थियो ।

विरोधमा उत्रिएका नेतृहरूले बुझाएको विज्ञप्तिमा समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थ सिद्ध गर्ने माध्यम बनाइएको भन्दै कडा आपत्ति जनाइएको छ । उनीहरूका अनुसार एउटै परिवारका तीन जनालाई समानुपातिक सूचीमा राखिएको र थप एक जनालाई गठबन्धनमार्फत अघि सारिएको दाबी गरिएको छ ।

वर्षौँदेखि पार्टीमा रगत–पसिना बगाएका इमानदार कार्यकर्तालाई पाखा लगाएर पहुँचवालाका आफन्तलाई मात्रै अवसर दिएको भन्दै आन्दोलनरत पक्षले तत्काल सूची नसच्याएसम्म अनशन जारी रहने चेतावनी दिएको छ।


सम्बन्धित समाचार
भर्खरै