२६ पौष, कलैया । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन बारा जिल्लाका बहुमत महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ प्रस्थान गरेका छन् । संस्थापन पक्षको विरोध र बहिष्कारको अपिलका बीच बाराबाट ६४ प्रतिशत प्रतिनिधिहरू विशेष महाधिवेशनका लागि राजधानी हिँडेका हुन् ।
जिल्ला सचिव राजेश रौनियारका अनुसार, पार्टीको सङ्गठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको सुधार र समग्र पार्टीलाई सही मार्गमा ल्याउने उद्देश्यका साथ बोलाइएको यो ऐतिहासिक महाधिवेशनमा बाराका प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाएका छन्।
बारामा कुल १०४ जना महाधिवेशन प्रतिनिधि रहेकामा ६५ जनाभन्दा बढी प्रतिनिधिहरू आजै विभिन्न सवारी साधनमार्फत काठमाडौँका लागि प्रस्थान गरिसकेका छन् । महाधिवेशन प्रतिनिधि एवं कांग्रेस बाराका पूर्व उपसभापति सुरेन्द्र गुप्ताले बाँकी रहेका अन्य केही प्रतिनिधिहरूले पनि भोलिसम्ममा काठमाडौँ आइपुग्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।
बारा कांग्रेसले यसअघि नै आफ्ना सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन ‘ह्विप’ जारी गरिसकेको थियो।
पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैध भन्दै सहभागी नहुन दबाब दिइरहेका बेला बाराका प्रतिनिधिहरूले भने त्यसको कडा प्रतिवाद गरेका छन् । महाधिवेशन प्रतिनिधि एवं कांग्रेस क्षेत्रीय सभापति प्रभात चौरसियाले आफूहरू कांग्रेसको सच्चा सिपाही भएको उल्लेख गर्दै कसैको डर वा धम्की स्वीकार्य नहुने बताए । “देशको चाहना र समयको माग अनुसार कांग्रेसलाई परिवर्तन गर्न यो विशेष महाधिवेशन सफल पार्नुको विकल्प छैन,” उनले भने ।
विशेष महाधिवेशनबाट पार्टीको आन्तरिक लोकतन्त्र, साङ्गठनिक सुधार र भावी रणनीतिका सम्बन्धमा ठोस र सकारात्मक निर्णय आउने अपेक्षा बाराका प्रतिनिधिहरूले गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा भोलिदेखि सुरु हुने यस महाधिवेशनलाई बारा कांग्रेसले पार्टीलाई थप एकताबद्ध र सशक्त बनाउने अवसरका रूपमा लिएको छ ।















