२२ पुष, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको रौनक राजधानीमा सुरु भएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा ललितपुरको कुपण्डोलबाट विशाल र्याली सुरु गरिएको छ, जसको नेतृत्व पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे र जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायतका प्रभावशाली नेताहरूले गरिरहेका छन् । सांस्कृतिक झाँकी, मौलिक बाजागाजा र परम्परागत पोसाकमा सजिएका सहभागीहरूले महाधिवेशन स्थल भृकुटीमण्डपतर्फको यात्रालाई उत्सवमय बनाएका छन् ।
पार्टीभित्रको संस्थापन पक्षको असहयोग र आन्तरिक शक्ति सङ्घर्षका बीच बहुमत प्रतिनिधिहरूको समर्थनमा आयोजना गरिएको यस महाधिवेशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल मात्र नभई काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरी जस्ता विभिन्न स्थानहरूबाट पनि जुलुसहरू भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ। सबै क्षेत्रबाट आउने यी जुलुसहरू एकीकृत भई महाधिवेशनको उद्घाटन समारोहमा परिणत हुनेछन् ।
आज दिउँसो १ बजे भृकुटीमण्डपमा विशेष समारोहका बीच महाधिवेशनको औपचारिक उद्घाटन गरिने तयारी छ। उद्घाटन पश्चात् आजै बन्द सत्र सुरु हुने र भोलि सोमबारसम्म चल्ने यस महाधिवेशनले कांग्रेसभित्रको पछिल्लो राजनीतिक कोर्ष र भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ। महाधिवेशन स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने कार्यकर्ताहरूको बाक्लो उपस्थितिले राजधानीको ट्राफिक व्यवस्था समेत प्रभावित बनेको छ।















