Logo

२७ पुष, वीरगञ्ज। चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिक त्रिशूली नदीको किनारमा पुरानो बसको अवशेष फेला परेको छ। बालुवामा पुरिएको अवस्थामा निलो रङको बसजस्तो देखिने धातुको टुक्रा देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका हुन्।

प्रहरीका अनुसार फेला परेको अवशेष २०८१ असार २८ गते सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई यात्रुवाहक डिलक्स बसमध्ये एकको हुनसक्ने आशंका गरिएको छ। उक्त अवशेष तनहुँतर्फको नदी बगर क्षेत्रमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले चितवनतर्फबाट नदीको पारिपट्टी झाडीमा बालुवाले पुरिएको अवस्थामा धातुको टुक्रा देखिएको जानकारी दिए।
उनले भने, “बालुवामा पुरिएको बसजस्तो देखिने भाग भेटिएको छ। यो गत असारमा बेपत्ता भएका बसकै अवशेष हो वा होइन भन्ने यकिन गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ।”

घटनास्थल दुर्गम र पहुँच कठिन भएकाले तनहुँ र चितवन दुवै जिल्लाबाट प्रहरी परिचालन गरिएको डीएसपी खनालले बताए।

उल्लेखनीय छ, २०८१ असार २८ गते बिहान मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा लेदोसहितको पहिरो खस्दा दुईवटा यात्रुवाहक डिलक्स बस त्रिशूली नदीमा बगेर बेपत्ता भएका थिए। वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको ‘एन्जल डिलक्स’ बस दुर्घटनामा परेका थिए।

दुर्घटनामा कुल ६५ जना यात्रु बेपत्ता भएका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, भारतीय टोलीसहितको लामो खोजी अभियानपछि विभिन्न स्थानबाट २५ जनाको शव मात्र फेला परेको थियो भने ४० जना यात्रु अझै बेपत्ता छन्। बसका मुख्य संरचना भने अहिलेसम्म फेला परेका थिएनन्।

हाल फेला परेको धातुको अवशेषलाई डेढ वर्षअघि भएको सोही दुर्घटनासँग जोडेर हेरिएको छ। प्रहरीले अवशेषको पहिचान तथा थप अनुसन्धान जारी राखेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै