२७ पुष, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष र विधान कार्यान्वयनको बहसका बीच महामन्त्रीद्वय गगनकुमार थापा और विश्वप्रकाश शर्माले दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन् ।
राजधानीको भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा थापा र शर्माले परम्परागत दीप प्रज्ज्वलनसँगै गमलामा रहेको विरुवामा पानी हालेर महाधिवेशनको सुरुवात गरेका हुन् । पार्टीको ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विधानको धारा १७ (२) अनुसार माग गरेको यो महाधिवेशनलाई संस्थापन पक्षले विधानसम्मत नभएको भन्दै बहिष्कार गरे पनि महामन्त्रीद्वयले त्यसको स्वामित्व लिँदै उद्घाटन गरेपछि कांग्रेसको राजनीतिले नयाँ मोड लिएको छ ।
विशेष महाधिवेशनको पक्षमा जनलहर बढ्दै जाँदा यसअघि सभापति शेरबहादुर देउवा निकट मानिएका नेताहरू उदयशमशेर राणा, विनोद चौधरी र डिला संग्रौला समेत उद्घाटन सत्रमा सहभागी भएपछि संस्थापन पक्ष रक्षात्मक देखिएको छ । त्यस्तै, नेता शेखर कोइराला निकट मानिने कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की र काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ लगायतका नेताहरूले विधिको सान्दर्भिकता स्थापित गर्न यो महाधिवेशन अपरिहार्य रहेको जिकिर गरेका छन् ।
नो मोर शेरबहादुरको नारासहित काठमाडौँ ओर्लिएका प्रतिनिधिहरूको ठुलो हिस्साले अबको निकास नेतृत्व परिवर्तन नै भएको भन्दै महामन्त्रीद्वयलाई निर्णायक कदम चाल्न दबाब दिएका छन् ।
भृकुटीमण्डपमा देखिएको यो शक्ति प्रदर्शनले कांग्रेसभित्र नेतृत्वको वैधता र विधानको व्याख्यालाई लिएर गम्भीर प्रश्न खडा गरिदिएको छ । उद्घाटन सत्रमा सहभागी प्रतिनिधिहरूले ‘अघि बढ गगन(विश्व हामी आइसक्यौँ’ भन्दै नेतृत्व परिवर्तनको मागलाई चर्को रूपमा उठाएका छन् । जनसम्पर्क समितिका सभापतिहरूले पार्टी सङ्कटमा रहेको भन्दै संयमता अपनाउन आग्रह गरे तापनि बहुसङ्ख्यक प्रतिनिधिहरू भने सभापति हटाउनेसम्मको प्रस्ताव ल्याउने तयारीमा जुटेका देखिन्छन् ।
यस महाधिवेशनले कांग्रेसको भविष्य र आगामी साङ्गठनिक स्वरूप कस्तो हुनेछ भन्ने कुराको फैसला गर्ने अपेक्षा गरिएको छ ।















