Logo

२८ पौष, काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज सोमबारदेखि बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आइतबार भव्य रूपमा उद्घाटन गरिएको महाधिवेशन आजबाट नीतिगत छलफलका लागि बन्दसत्रको चरणमा प्रवेश गर्न लागेको हो ।

महाधिवेशनको प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र बिहान १० बजेबाट सुरु हुने कार्यतालिका छ । बन्दसत्र सुरु हुनुअघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया पुनः शुरु हुने भएको छ। आइतबार राति ९ बजेसम्मको तथ्याङ्कअनुसार २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले औपचारिक रूपमा नाम दर्ता गराइसकेका छन् ।

संस्थापन पक्षले बहिष्कारको अपिल गरे पनि विशेष महाधिवेशनमा प्रतिनिधिको उपस्थिति उत्साहजनक देखिएको छ । नेता युवराज पाण्डेयका अनुसार कुल महाधिवेशन प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत प्रतिनिधिहरू यस महाधिवेशनमा सहभागी भएका छन् । यो तथ्याङ्कले विशेष महाधिवेशन आह्वान गर्ने पक्षलाई थप बल पुर्‍याएको विश्लेषण गरिएको छ ।

आजको बन्दसत्रमा पार्टीको साङ्गठनिक सुदृढीकरण, विधान संशोधनका प्रस्तावहरू, र समसामयिक राजनीतिक प्रस्तावहरूमाथि छलफल हुने आयोजकले जनाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी रूपान्तरणका लागि प्रस्तुत गर्ने नीतिगत दस्ताबेजहरूमाथि प्रतिनिधिहरूले समूहगत छलफल गरी सुझाव दिनेछन् ।

बन्दसत्रमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरूको व्यवस्थापनका लागि स्वयंसेवकहरू परिचालन गरिएको छ । आइतबारको उद्घाटन सत्रमा कार्यकर्ताको बाक्लो उपस्थिति रहेकोमा आजको बन्दसत्रमा भने दर्ता भएका प्रतिनिधिहरू मात्र सहभागी हुन पाउनेछन् ।


सम्बन्धित समाचार