२८ पौष, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी नहुने निश्चित भएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरू र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बन्दसत्रमा सहभागी हुन बारम्बार आग्रह गरिरहेका बेला देउवाको सचिवालयले उनी नजाने स्पष्ट पारेको हो ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले एक सूचना जारी गर्दै सभापति देउवाको भृकुटीमण्डप जाने कुनै पनि कार्यक्रम वा योजना नरहेको जानकारी दिएका छन् । संस्थापन पक्षले यसअघि नै यो महाधिवेशनलाई ‘अवैधानिक’ ठहर गरिसकेकाले सभापति त्यहाँ उपस्थित नहुने सचिवालयको भनाइ छ ।
महामन्त्री गगन थापाले आजको बन्दसत्र सुरु हुनुअघि सभापतिलाई ‘ठन्डा दिमागले सोचेर’ हलमा आउन आह्वान गरेका थिए । तर, देउवा पक्षले कार्यसम्पादन समितिको निर्णयलाई आधार मान्दै विशेष महाधिवेशनको स्वामित्व लिन अस्वीकार गरेको छ। सभापति नजाने भएपछि अब विशेष महाधिवेशनको हलले कुन बाटो लेला भन्ने चासो बढेको छ ।
देउवा निकटका नेताहरूका अनुसार १५औँ नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा समानान्तर गतिविधि जस्तो देखिने विशेष महाधिवेशनमा सहभागी हुनुले गलत नजिर बस्ने संस्थापनको बुझाइ छ । सभापति अनुपस्थित हुने भएपछि अब महाधिवेशनका प्रतिनिधिहरूले हलबाटै नेतृत्व वा नीतिका बारेमा कठोर निर्णय लिन सक्ने सम्भावना बलियो बनेको छ ।















