२८ पुष, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले पार्टीभित्र उत्पन्न आन्तरिक संकट र सम्भावित विभाजनलाई रोक्न आफू निकट नेता तथा कानुन व्यवसायीहरूसँग सघन छलफल सुरु गर्नुभएको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्रको तयारी तीव्र भइरहेका बेला कोइरालाले आफ्नै सम्पर्क कार्यालयमा समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र कानुनी सल्लाहकारहरूलाई बोलाएर विकसित राजनीतिक घटनाक्रमबारे परामर्श लिनुभएको हो । विशेष महाधिवेशनले पार्टीमा वैचारिक र सांगठनिक दुरी बढाएको महसुस गर्दै नेताहरूले पार्टीको अस्तित्व रक्षाका लागि मध्यमार्गी बाटो खोज्न कोइरालालाई दबाब दिएका छन् ।
बैठकमा सहभागी नेताहरूका अनुसार कांग्रेसलाई फुटको संघारबाट जोगाउन कोइरालाले निर्णायक भूमिका खेल्नुपर्ने सुझाव दिइएको छ । विशेष गरी महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही नेताहरू समेत कोइराला निवास पुगेर पार्टी एकताका पक्षमा उभिन आग्रह गरेपछि बैठक थप अर्थपूर्ण बनेको छ । हिजोको उद्घाटन सत्रमा कोइराला निकट मानिने केही केन्द्रीय सदस्यहरूको उपस्थिति हुनु र आजको बैठकमा कानुनी जटिलताबारे समेत छलफल हुनुले संस्थापन र इतर पक्षबीचको सम्बन्धलाई कुन दिशामा लैजाने भन्नेबारे कोइराला समूह ठोस रणनीति बनाउने तयारीमा देखिन्छ ।
यो छलफललाई विशेष महाधिवेशनको बन्द सत्र अगाडिको महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ । कोइरालाले आफ्ना निकटवर्तीहरूसँगको रायपछि मात्रै महाधिवेशन र पार्टीको आन्तरिक विवादबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बुझिएको छ । पार्टीभित्रको बढ्दो ध्रुवीकरणले कार्यकर्तामा अन्योल सिर्जना गरिरहेका बेला कोइरालाको यो सक्रियताले कांग्रेसको आगामी भविष्य र एकताको सूत्र पहिल्याउने विश्वास लिइएको छ ।















