२८ पुष, काठमाडौं । काठमाडौँ महानगरपालिकाको राजनीतिक वृत्तमा यतिबेला एउटा सनसनीपूर्ण खबरले हलचल पैदा गरेको छ ।
आफ्नै कार्यशैली र स्वतन्त्र पहिचानका कारण चर्चामा रहँदै आएका मेयर बालेन शाहले आगामी माघ ५ गते आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन् । स्थानीय तहको नेतृत्व सम्हालेको केही वर्षमै उनले संघीय राजनीतिमा फड्को मार्नका लागि महानगरको चाबी बुझाउने निर्णय लिएको उनी निकट सचिवालय स्रोतले पुष्टि गरेको छ ।
मेयर शाहको यो कदम केवल राजीनामामा मात्र सीमित रहने छैन । सचिवालयका अनुसार उनी आगामी प्रतिनिधिसभा निर्वाचनको मैदानमा होमिने योजनामा छन्, जसका लागि उनले भूगोलसमेत तय गरिसकेका छन् । बालेनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्ने गरी तयारी थालेका छन्। राजीनामा लगत्तै उनी चुनावी माहोल बनाउन झापा प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
राष्ट्रिय राजनीतिमा स्थापित शक्तिशाली नेता ओलीसँग प्रतिस्पर्धा गर्ने बालेनको यो हिम्मतपूर्ण निर्णयलाई धेरैले निकै चासोका साथ हेरेका छन् । महानगरमा जस्तै संघीय निर्वाचनमा पनि स्वतन्त्र लहरलाई कायम राख्न सकिन्छ या सकिँदैन भन्ने चुनौती उनी सामु छ ।
काठमाडौँको मेयर पद त्यागेर झापाको राजनीतिक मैदान रोज्नुले बालेन अब स्थानीय विकासभन्दा पनि नीति निर्माण र केन्द्रीय राजनीतिमा आफ्नो हस्तक्षेपकारी भूमिका खोजिरहेको संकेत दिएको छ ।















