Logo

२८ पुष, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ अध्याय थप्न लागेको दोस्रो विशेष महाधिवेशनको रौनक सोमबार बिहानैदेखि काठमाडौंको भृकुटीमण्डपमा चुलिएको छ ।

हिजो भव्य उद्घाटन सम्पन्न भएपछि आज बन्द सत्रका लागि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू र पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थितिले प्रदर्शनी मार्ग क्षेत्र कांग्रेसमय बनेको छ । बिहानैदेखि उत्साहका साथ भृकुटीमण्डप प्रवेश गरिरहेका प्रतिनिधिहरूको चहलपहलले पार्टीभित्रको वैचारिक बहसलाई थप तातेको छ ।

आजको बन्द सत्र केवल औपचारिक छलफलमा मात्र सीमित हुने छैन । प्रचार प्रसार समितिका अनुसार सत्रको प्रारम्भमा विशेष महाधिवेशनलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक कार्यविधि निर्माण गरिने तालिका रहेको छ । सो कार्यविधि पारित भएलगत्तै बन्द सत्र गहन नीतिगत मन्थनमा प्रवेश गर्नेछ । जसका लागि महाधिवेशनलाई नौवटा छुट्टाछुट्टै समूहमा विभाजन गरी चारवटा मुख्य विषयवस्तुहरूमा केन्द्रित रहेर छलफल चलाउने रणनीति बनाइएको छ ।

पार्टीको भविष्य र नीतिगत स्पष्टताका लागि यो ुनीति मन्थनुलाई निकै महत्त्वपूर्ण मानिएको छ । संस्थापन पक्षको असहमति र बहिष्कारका बीच पनि प्रतिनिधिहरूको यो सक्रिय सहभागिताले विशेष महाधिवेशन पक्षधरलाई थप ऊर्जा प्रदान गरेको छ । समूहगत छलफलबाट प्राप्त सुझावहरूलाई एकीकृत गरी महाधिवेशनले एउटा ठोस मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ, जसले कांग्रेसभित्रको वर्तमान राजनीतिक गतिरोध र आगामी दिशा तय गर्न निर्णायक भूमिका खेल्न सक्छ ।


सम्बन्धित समाचार
भर्खरै