२८ पुष, काठमाडौँ । नेपाली कांग्रेसभित्र संस्थापन र विद्रोही पक्षबीचको टकरावले पार्टी विभाजनको खतरा बढाएपछि वरिष्ठ नेता डा. शेखर कोइरालाले एकताका लागि गम्भीर पहल थालेका छन् ।
सोमबार आफू निकट नेता, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको विशेष परामर्शमा कोइरालाले भावुक हुँदै पार्टीलाई फुटबाट जोगाउन आफू जस्तोसुकै त्याग गर्न र विष पिउन समेत तयार रहेको बताएका हुन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नेतृत्व परिवर्तनको चर्को बहस गरिरहँदा कोइरालाले भने पार्टीको अस्तित्व जोगाउन सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग निरन्तर संवादमा रहेको र एकताको अन्तिम कसरत जारी राखेको जानकारी दिएका छन् ।
छलफलका क्रममा सहभागी कानुन व्यवसायी तथा वरिष्ठ अधिवक्ताहरूले भने महामन्त्रीद्वयले अघि बढाएको विशेष महाधिवेशनको वैधानिकतामाथि नै गम्भीर प्रश्न उठाएका छन् । विधानको धारालाई उद्धृत गर्दै उनीहरूले विशेष महाधिवेशन बोलाउने सर्वाधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको तर्क गर्दै अहिलेको प्रक्रियाबाट गरिने नेतृत्व परिवर्तनले कानुनी जटिलता निम्त्याउने राय दिएका हुन् । यसले एकातिर राजनीतिक शक्ति प्रदर्शन भइरहँदा अर्कोतिर कानुनी अड्चनको सम्भावनाले पार्टीभित्रको अन्योललाई थप बल पुर्याएको छ ।
कोइराला निवासमा भएको यो भेलामा सहभागी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र मिनेन्द्र रिजाल लगायतका नेताहरूले पार्टीलाई जोगाउन कोइरालालाई निर्णायक भूमिका खेल्न सुझाव दिएका छन् । कार्यकर्ताहरूमा बढ्दो निराशा र सम्भावित फुटलाई रोक्न दुवै पक्षबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने दबाब कोइरालामाथि बढेको छ ।
कोइरालाको यो मध्यमार्गी अडानले एकातिर विद्रोही पक्षको जोशलाई संयमित बनाउन खोजेको देखिन्छ भने अर्कोतिर संस्थापन पक्षसँग संवादको ढोका खुल्लै राख्ने रणनीति अख्तियार गरेको छ ।















