Logo

२८ पुष, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्षले उग्र रूप लिएपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका नेताहरूलाई आकस्मिक छलफलका लागि आह्वान गरेका छन् ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले वर्तमान केन्द्रीय कार्यसमिति नै भङ्ग गर्न सक्ने गरी नयाँ कार्यविधि पारित गरेपछि सभापति देउवाले दिउँसो ३ बजेका लागि आफू निकट नेताहरूको भेला बोलाएका हुन् । यसअघि कानुनी पृष्ठभूमि भएका नेता र वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गरिसकेका देउवाले अब राजनीतिक रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा ठोस रणनीति तय गर्ने बुझिएको छ ।

सभापति देउवाको तीव्र असहमति र अवरोधका बाबजुद जारी विशेष महाधिवेशनमा दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको प्रष्ट खाकासहितका प्रतिवेदनहरू पेस गरेपछि संस्थापन पक्ष रक्षात्मक बनेको छ । अझ, बन्दसत्रले नयाँ निर्वाचन समिति गठन र नेतृत्व चयनको बाटो खोल्ने गरी कार्यविधि नै पारित गरिदिएपछि देउवा पक्षले यसलाई आफ्नो अस्तित्वमाथिको गम्भीर चुनौतीका रूपमा लिएको छ । ३ बजे बस्ने भनिएको यो बैठकले विशेष महाधिवेशनको वैधानिकतालाई चुनौती दिने वा समानान्तर कुनै कडा कदम चाल्ने भन्नेबारे निर्णय लिन सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिए।

पार्टीभित्रको यो अभूतपूर्व संकटले कांग्रेसलाई दुई धारमा स्पष्ट रूपमा विभाजित गरिदिएको छ । एकातिर महामन्त्रीद्वयको नेतृत्वमा भृकुटीमण्डपमा हजारौँ प्रतिनिधिको उपस्थितिमा नेतृत्व फेर्ने कसरत भइरहेको छ भने अर्कोतिर धुम्बाराहीमा संस्थापन पक्ष आफ्नो सत्ता जोगाउने कानुनी र राजनीतिक सुरक्षा कवचको खोजीमा जुटेको छ ।

देउवा पक्षले यस महाधिवेशनलाई अवैधानिक भन्दै आए पनि हलको उत्साह र पारित कार्यविधिले पार्टीको शक्ति सन्तुलनमा ठूलो फेरबदल आउन सक्ने देखिएको छ । ३ बजेको छलफलपछि देउवा समूहले दिने आधिकारिक प्रतिक्रियाले कांग्रेसको भविष्य र सम्भावित विभाजनको तस्विरलाई थप प्रष्ट पार्नेछ ।


सम्बन्धित समाचार