Logo

२८ पौष, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट उम्मेदवारहरू बाहिरिने क्रम सुरु भएको छ ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र सोमबार दिउँसो ३ बजेसम्म कुल ५० जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन् । यसरी उम्मेदवारी त्याग्नेहरूमा सबैभन्दा ठूलो संख्या जनमत पार्टीको रहेको छ । आयोगका अनुसार जनमत पार्टीका मात्रै २० जना उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम हटाउन स्वयं उपस्थित भएर निवेदन दर्ता गराएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूले आफूलाई इच्छा नलागेमा वा अन्य कारणले उम्मेदवारी फिर्ता लिन चाहेमा पुस २८ गते दिउँसो ४ बजेसम्मको समय पाएका थिए । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी फिर्ता लिन सम्बन्धित व्यक्ति आफैँ आयोगको कार्यालयमा उपस्थित हुनुपर्ने कानुनी प्रावधान छ । यसरी उम्मेदवारी फिर्ता भएपछि रिक्त रहने स्थानमा अर्को उम्मेदवार पठाउन आयोगले सम्बन्धित राजनीतिक दललाई निश्चित समय उपलब्ध गराउनेछ ।

राजनीतिक दलहरूले यसअघि नै पुस १३ र १४ गते आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए भने क्लस्टर मिलाउने र त्रुटि सच्याउने प्रक्रिया पुस २७ गते नै सम्पन्न भइसकेको छ । जनमत पार्टीले ११० जनाकै पूर्ण सूची बुझाए पनि अन्तिम समयमा २० जनाले नाम फिर्ता लिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अब निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको अन्तिम विवरण सार्वजनिक गरेपछि प्रत्यक्षतर्फको चुनावी प्रक्रिया सुरु हुनेछ, जसका लागि माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।


सम्बन्धित समाचार