Logo

२८ पुष, काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागले राजनीतिक गर्माहट बढाएपछि सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल र रणनीति तय गर्न सक्रियता बढाउनुभएको छ ।

सोमबार महाराजगन्जस्थित देउवा निवासमा संस्थापन पक्षको बैठक चलिरहँदा एकाएक नेता डा. शेखर कोइराला आफ्नो समूहका प्रभावशाली नेताहरूलाई लिएर पुगेपछि कांग्रेस राजनीतिमा नयाँ मोड देखिएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पक्षमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटेसँगै दबाबमा पर्नुभएका सभापति देउवाले असन्तुष्ट पक्षलाई समेत समेटेर साझा धारणा बनाउने प्रयास स्वरूप यो छलफल थाल्नुभएको बुझिएको छ ।

देउवासँगको संवादका लागि नेता कोइरालाका साथमा पूर्वमन्त्री मिनेन्द्र रिजाल, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे लगायतका नेताहरू सहभागी हुनुहुन्छ । यसअघि सोमबार बिहानै देउवा निवासमा बसेको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले महामन्त्रीहरूले अघि सारेको विशेष महाधिवेशनको प्रक्रियालाई अवैध ठहर गरेको थियो । संस्थापन पक्षले विधानको धारा र पद्धति मिचेर महाधिवेशन बोलाउन खोजिएको तर्क गरिरहँदा शेखर पक्षले भने पार्टीलाई जीवन्त राख्न विशेष महाधिवेशन अपरिहार्य रहेको अडान राख्दै आएको छ ।

सभापति देउवाले आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग परामर्श गरिसकेपछि विपक्षी समूहसँग वार्ता थाल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष महाधिवेशनको वैधानिकता र पार्टीभित्रको बढ्दो ध्रुवीकरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा दुवै पक्षबीच सघन संवाद भइरहेको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई रोक्न खोजिरहेको बेला शेखर–गगन समूहले बहुमतको बलमा महाधिवेशन सुनिश्चित गर्ने रणनीति बनाएपछि कांग्रेसको आन्तरिक विवाद अब कुन दिशामा मोडिने हो भन्ने कुरा यसै बैठकको निष्कर्षमा निर्भर रहने देखिएको छ ।


सम्बन्धित समाचार