२८ पौष, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । यसका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका नेताहरूसँग काठमाडौँमा विस्तृत छलफल गरेका छन् ।
रास्वपा झापाका सचिव शम्भु सुस्केरा ढकालका अनुसार मेयर शाहले आफू झापा-५ बाट उम्मेदवार बन्ने स्पष्ट धारणा राख्दै त्यहाँको राजनीतिक अवस्था, संगठनात्मक संरचना र चुनावी रणनीतिबारे जानकारी लिएका थिए । आइतबार काठमाडौँमा करिब डेढ घण्टा चलेको छलफलमा झापाबाट पुगेका पार्टी पदाधिकारीहरू सहभागी थिए । उनीहरू पार्टी कार्यालयसमेत नगई सिधै मेयर शाहसँगको बैठकमा जुटेका थिए ।
छलफलमा झापा-५ मा प्रतिपक्षीलाई कसरी कमजोर बनाउने, संगठनात्मक सबलदुर्बल पक्ष, चुनावी परिचालन तथा अभियान सञ्चालनका रणनीतिमा केन्द्रित भएर संवाद भएको रास्वपा झापाले जनाएको छ। झापा-५ क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक चुनाव जित्दै आएको क्षेत्र हो ।
स्रोतका अनुसार बालेन शाहले आफ्नै सचिवालयमार्फत झापाको राजनीतिक अवस्था पहिलेदेखि नै अध्ययन गरिरहेका थिए । सचिवालयको रिपोर्ट र रास्वपा झापाका नेताहरूसँगको प्रत्यक्ष छलफलपछि उनले झापा-५ बाटै चुनाव लड्ने निष्कर्षमा पुगेका हुन् ।
बैठकमा माघ ६ गते झापामा र्यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी गर्ने निर्णयसमेत भएको बताइएको छ । त्यसअघि माघ ४ गते काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपाको पार्टी कार्यालय जाने कार्यक्रम तय भएको छ। माघ ५ गते जनकपुरमा रास्वपाका सभापति रवि लामिछाने र बालेन शाह संयुक्त रूपमा पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भई चुनावी सभालाई सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ ।
जनकपुर धनुषा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ । उक्त क्षेत्रबाट रास्वपाका प्रवक्ता मनिष झा प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिसमा परेका छन् र पार्टीको प्राइमरी निर्वाचनमा पनि उनी उम्मेदवार सिफारिस भएका थिए ।
झापाबाट उम्मेदवार बन्ने निश्चित भएसँगै बालेन शाहका लागि निर्वाचन क्षेत्रमै चुनावी कार्यालय तथा बसोबासको व्यवस्था मिलाउने काम सुरु भएको छ। रास्वपा झापाका अनुसार दमकस्थित क्याम्पस मोड आसपास तथा गोर्खा किचन क्षेत्र नजिक केही घर निःशुल्क उपलब्ध गराउने प्रस्तावसमेत आएका छन् ।
रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकले दमकमा निर्वाचन गतिविधिका लागि घर खोज्ने काम भइरहेको पुष्टि गरे । उनका अनुसार बालेनको टिम र स्थानीय नेताहरूले दुईवटा घरको स्थल निरीक्षण गरिसकेका छन् र तीमध्ये एउटा प्रयोग गर्नेबारे चाँडै निर्णय लिइनेछ ।
बालेन शाह झापा-५ बाट उम्मेदवार बने पनि उनको राजनीतिक गतिविधि झापामै सीमित नरहने बताइएको छ । रास्वपाले उनको उपस्थितिलाई कोसी प्रदेशभर उपयोग गर्ने रणनीति बनाइरहेको स्रोतको भनाइ छ ।
झापा, मोरङ, सुनसरी र इलामलगायत जिल्लामा सक्रिय कार्यक्रम र जनसम्पर्क अभियान बढाउने तयारी भइरहेको छ । रास्वपाको वरिष्ठ नेतामा मनोनीत भएका बालेन शाहले अहिलेसम्म दलको नेताको रूपमा शपथ नलिएको भए पनि शपथपछि उनी चुनावी अभियानमा सक्रिय रूपमा होमिने रास्वपा नेताहरूको दाबी छ ।
माघ ४ गते पदबाट राजीनामा दिएलगत्तै रास्वपा दलको शपथ लिएर माघ ६ गते उम्मेदवारी दर्ताका लागि झापा आउने सन्देश स्थानीय नेताहरूले पाइसकेका छन् । बालेन उम्मेदवार भएर झापा आउने खबरसँगै रास्वपा झापाका कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन् ।














