Logo

२९ पुष, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको विद्यमान निर्वाचन समितिलाई भंग गर्दै नयाँ समिति चयन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्द सत्रले डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो । यसअघि पार्टीको आधिकारिक संरचना अन्तर्गत खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति क्रियाशील रहेकोमा, विशेष महाधिवेशन पक्षधरले त्यसलाई खारेज गरी नयाँ टोलीलाई जिम्मेवारी सुम्पेका हुन् ।

नयाँ गठित समितिमा केसीको नेतृत्वसँगै सदस्यहरूका रूपमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतमलाई चयन गरिएको छ । यो समितिले अब महाधिवेशनका बाँकी निर्वाचन प्रक्रियाहरूलाई अगाडि बढाउने जिम्मेवारी पाएको छ । बन्द सत्रमा सहभागी नेताहरूका अनुसार, नयाँ नेतृत्व चयनका लागि आवश्यक कानुनी र प्राविधिक प्रक्रियाहरू यही समितिले तय गर्नेछ ।

महाधिवेशनको बन्द सत्र जारी रहँदा एकातिर निर्वाचनको तयारी तीव्र पारिएको छ भने अर्कोतिर संस्थापन पक्ष र इतर पक्षबीच सहमतिका लागि वार्ताहरू पनि भइरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्माबीच संवादको वातावरण बनाउन नेताहरू सक्रिय देखिएका छन् । यद्यपि, विशेष महाधिवेशन स्थलमा नयाँ निर्वाचन समिति गठन भएसँगै कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्षले नयाँ मोड लिएको छ ।


सम्बन्धित समाचार