Logo

२९ पुष, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिनुभएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समयसीमाभित्रै उहाँले उम्मेदवारको सूचीबाट हट्ने निर्णय गर्नुभएको हो । कांग्रेसले बुझाएको समानुपातिकतर्फको सूचीमा पोखरेलको नाम ६२ औँ नम्बरमा समावेश गरिएको थियो, जसलाई लिएर राजनीतिक वृत्त र सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको थियो ।

उहाँको नाम उम्मेदवारको सूचीमा परेपछि राष्ट्रपति जस्तो निष्पक्ष र सम्मानित संस्थाको पदमा रहेका व्यक्तिको परिवारका सदस्य सक्रिय राजनीति र लाभको पदमा जानु नैतिक रूपमा उचित नहुने भन्दै आलोचना भएको थियो । राष्ट्रपतिको नाम जोडेर भइरहेको सोही आलोचना र विवादका बीच उहाँले स्वेच्छाले पछि हट्ने निर्णय लिनुभएको बुझिएको छ । पोखरेलले आफूले नाम फिर्ता लिएको पुष्टि गर्दै अब पार्टीले सोही बमोजिमको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभएको छ ।

निर्वाचन आयोगले विभिन्न दलका समानुपातिक सूचीबाट नाम फिर्ता लिएका ८५ जनाको स्थानमा नयाँ नाम पठाउन आजै पत्राचार गरिरहेको सन्दर्भमा पोखरेलको यो निर्णय आएको हो । उहाँले नाम फिर्ता लिएसँगै अब सो रिक्त स्थानमा नेपाली कांग्रेसले अर्को उम्मेदवार सिफारिस गर्ने बाटो खुलेको छ । यसअघि पनि प्रभावशाली नेताका परिवारका सदस्यहरू सूचीमा पर्दा आलोचना हुने गरेकाले पोखरेलको यो कदमलाई कतिपयले नैतिक दबाबको परिणामका रूपमा समेत विश्लेषण गरेका छन् ।


सम्बन्धित समाचार