Logo

२९ पुष, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा आयोजित विशेष केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले विधान र नियमावलीका आधारमा निर्वाचनका कार्यक्रमहरू अगाडि बढाउने निर्णय गरेको हो । नवनियुक्त संयोजक एवं वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा बसेको समितिको पहिलो बैठकले विधिवत रूपमा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारीसँगै प्रक्रिया थालनी गरेको जानकारी दिएको छ ।

निर्वाचन समितिले कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६ का साथै विशेष केन्द्रीय महाधिवेशनका लागि तयार पारिएको कार्यविधि र निर्वाचन निर्देशिका २०८२ को परिधिभित्र रहेर मतदानको प्रक्रिया अघि बढाइने प्रस्ट पारेको छ । समितिका संयोजक केसीका अनुसार, मंगलबार नै औपचारिक सूचना प्रकाशित गरी केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्वका लागि आवश्यक कानुनी र प्राविधिक चरणहरू तय गरिएका छन्। यससँगै भृकुटीमण्डपमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूमा उत्साह थपिएको छ ।

पार्टीभित्र संस्थापन पक्षसँगको वार्ता र आन्तरिक शक्ति सङ्घर्ष जारी रहेकै बेला विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रियालाई तीव्रता दिनुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । नयाँ निर्वाचन समितिले आफ्नो जिम्मेवारी सम्हालेलगत्तै उम्मेदवारी दर्तादेखि मतदानको समयसीमासम्मका विषयहरू टुङ्ग्याउन लागेको छ । यस प्रक्रियाले नेपाली कांग्रेसको आगामी नेतृत्व र साङ्गठनिक स्वरूप कस्तो हुनेछ भन्ने विषयमा नयाँ बहस सिर्जना गरेको छ ।


सम्बन्धित समाचार