Logo

२९ पुष, वीरगञ्ज । आदिवासी थारु समुदायको प्रमुख पर्व माघी (खिचडी) तथा थारु नयाँ वर्ष २६५० को अवसरमा वीरगञ्जमा यो वर्ष पनि थारु माघी समारोह २०८२ भव्य रूपमा आयोजना हुने भएको छ। माघी मूल समारोह समिति २०८२, पर्साको आयोजनामा माघ १ गते आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा यो कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।

समारोहको प्रमुख अतिथिका रूपमा समाजसेवी, शिक्षाप्रेमी तथा थारु कल्याणकारिणी सभाको प्रथम भेला आयोजना गर्ने व्यक्तित्वका रूपमा परिचित स्व. बलि बन्ठाका प्रतिनिधि (नाति) लक्ष्मीनारायण बन्ठा (गुजरा नगरपालिका–१, रौतहट) विशेष रूपमा सहभागी हुनेछन्। बलि बन्ठाले आदर्श थारु छात्रावास, कुमालटोल वीरगञ्जका लागि पहिलो जग्गा दान गरेका थिए।

माघी समारोहको मुख्य उद्देश्य थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्नुका साथै सम्पूर्ण थारु समुदायबीच माघी पर्व तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नु रहेको माघी मूल समारोह समिति पर्साका संयोजक जंगबहादुर चौधरीले बताउनुभयो।

कार्यक्रममा थारु समुदायका विभिन्न सांस्कृतिक प्रस्तुति, लोकनृत्य, गीत-संगीत, खिचडी महोत्सव तथा अन्य मौलिक कार्यक्रमहरू प्रस्तुत गरिने बताइएको छ। विगतका वर्षहरूमा जस्तै यस पटक पनि यो समारोहले थारु संस्कृतिको जीवन्त प्रदर्शन गर्दै समुदायको एकता र पहिचानलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

थारु समुदायले माघी पर्वलाई आफ्नो नयाँ वर्षको रूपमा अत्यन्त हर्षोल्लासका साथ मनाउने गर्दछन्। यो अवसरमा वीरगञ्जवासी तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा थारु तथा अन्य समुदायका व्यक्तिहरूको सहभागिता रहने आयोजकले विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार