Logo

२९ पुष, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले परम्परागत र चल्ते–चलाते कार्यशैलीबाट मुलुकमा विकसित नयाँ राजनीतिक र सामाजिक परिस्थितिको सामना गर्न असम्भव रहेको बताउनुभएको छ ।

मंगलबार पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले बदलिँदो परिवेशलाई चिर्न र जनअपेक्षा पूरा गर्न नै पार्टी एकता र आन्तरिक रूपान्तरणको बाटो रोजिएको स्पष्ट पार्नुभयो ।

विशेष गरी पछिल्लो समय देखिएको जेनजी आन्दोलन र युवा पुस्तामा देखिएको असन्तोषतर्फ संकेत गर्दै प्रचण्डले नयाँ पुस्ताले परिकल्पना गरेको भ्रष्टाचारमुक्त समाज र समृद्धिको चाहनालाई सम्बोधन गर्नु नै अबको मुख्य दायित्व भएको बताउनुभयो । ‘हाम्रा नवयुवाहरूले जस्तो नेपाल, जस्तो सामाजिक न्याय र समृद्धि चाहेका छन्, त्यो समाज बनाइछाड्ने हाम्रो संकल्प हो,’ उहाँले भन्नुभयो । उहाँले पार्टीको सांगठनिक संरचनालाई छिट्टै पूर्णता दिएर नेता तथा कार्यकर्ताहरूलाई जनताको कार्यक्षेत्रमा खटाउने योजना समेत सुनाउनुभयो ।

सम्बोधनका क्रममा संयोजक प्रचण्डले केवल पार्टी एकता मात्र नभएर बृहत्तर राष्ट्रिय एकता र वाम एकतालाई सुदृढ बनाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले कृषिमा आधुनिकीकरण, रोजगारी सिर्जना र प्राकृतिक स्रोत साधनको अधिकतम सदुपयोग गर्दै मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने धारणा राख्नुभयो । उत्पादन बढाएर मात्र समाजवादको लक्ष्य हासिल गर्न सकिने भन्दै उहाँले सबै नेता(कार्यकर्तालाई नयाँ जोसका साथ समाजवादको यात्रामा होमिन अपिल गर्नुभयो ।


सम्बन्धित समाचार
भर्खरै