२९ पुष, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन संस्थापन पक्षले हदैसम्मको लचकता अपनाइरहेको बताउनुभएको छ ।
मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले पार्टी नेतृत्वको कारणले कांग्रेस नफुट्ने स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकतावद्ध भएर जानु नै अहिलेको मुख्य आवश्यकता रहेको भन्दै संस्थापन पक्षले संवादका लागि सधैँ ढोका खुल्ला राखेको उल्लेख गर्नुभयो ।
प्रवक्ता महतले पार्टी विभाजित हुनु न त कांग्रेसको हितमा छ, न त नेपाली जनता र मुलुकको हितमा छ भन्दै एकताको विकल्प नभएकोमा जोड दिनुभयो । उहाँले काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई लक्षित गर्दै त्यस्ता गतिविधिले पार्टीलाई बलियो नबनाउने टिप्पणी समेत गर्नुभयो । ‘हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोसिस गरिरहेका छौँ, उहाँहरूले पनि त्यही लचकताका साथ समझदारीमा आउनुपर्छ,’ महतले भन्नुभयो ।
पार्टीभित्र देखिएको असन्तुष्टिलाई आन्तरिक छलफल र विधिबाटै समाधान गर्न सकिने भन्दै प्रवक्ता महतले इतर पक्षलाई पनि जिम्मेवार बन्न आग्रह गर्नुभयो । अहिलेको परिस्थितिमा कांग्रेस बलियो हुनुपर्ने राष्ट्रिय आवश्यकता रहेकाले नेतृत्वले सबै पक्षलाई समेटेर लैजान अधिकतम प्रयास गरिरहेको उहाँको दाबी छ । सानेपामा बस्ने केन्द्रीय समिति बैठकले पनि पार्टीको एकता जोगाउन र असन्तुष्ट पक्षका जायज मागहरूलाई सम्बोधन गर्न आवश्यक रणनीति तय गर्ने बुझिएको छ ।















