२९ पुष, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सुल्झाउन शीर्ष तहमा संवाद जारी रहेकै समयमा भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनले भने चुनावी प्रक्रियालाई तीव्रता दिएको छ ।
पार्टीको संस्थापन पक्ष र इतर पक्षबीच सहमति खोज्न बालुवाटार र सानेपामा छुट्टाछुट्टै छलफल भइरहँदा यता भृकुटीमण्डपमा भने निर्वाचन समितिले उम्मेदवारी दर्ताको औपचारिक प्रक्रिया सुरु गरेको हो । सहमतिको प्रतीक्षा नगरी निर्वाचन कार्यतालिका अघि बढाइएपछि महाधिवेशन स्थलमा उम्मेदवार र प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति देखिएको छ ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित तालिकाअनुसार मंगलबार दिउँसोदेखि सुरु भएको मनोनयन दर्ता कार्यक्रम आज राति साढे ९ बजेसम्म चल्नेछ। नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने नेताहरूले तोकिएको शुल्कसहित आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । एकातिर नेतृत्व तहमा सम्झौताको प्रयास भइरहेको भनिए पनि अर्कोतिर निर्वाचन प्रक्रियालाई रोक्न नहुने भन्दै इतर पक्षका नेता(कार्यकर्ताहरूले प्रक्रियालाई अगाडि बढाएका हुन् ।
भृकुटीमण्डपको हलमा उम्मेदवारी दर्ताका लागि लाइन लागेका प्रतिनिधिहरूको दृश्यले कांग्रेसभित्रको शक्ति सङ्घर्ष अब निर्णायक मोडमा पुगेको संकेत गर्दछ । राति अबेरसम्म उम्मेदवारी दर्ता सकिएपछि भोलि दाबी विरोध र नामावली प्रकाशनको चरण सुरु हुनेछ । संस्थापन पक्षले यस प्रक्रियालाई अवैध भनिरहे पनि भृकुटीमण्डपमा भइरहेको यो दौडधुपले पार्टीको आगामी साङ्गठनिक स्वरूपमा ठूलो फेरबदल ल्याउन सक्ने अनुमान गरिएको छ ।















