३० पौष, काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका शीर्ष नेताहरू आज बुधबार औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । सायमीसँगै पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठलगायत अन्य नेताहरू पनि नेकपामा समाहित हुन लागेका हुन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीले सायमीलाई काठमाडौँ क्षेत्र नम्बर ८ र ९ तथा प्रवक्ता श्रेष्ठलाई क्षेत्र नम्बर ७ बाट उम्मेदवार सिफारिस गरेको थियो। तर, निर्वाचनको मुखमा दुवै जनाले पार्टी परित्याग गरी नेकपा रोजेका हुन् ।
किन रोजे नेकपा ?
नेता सायमीले देशको विद्यमान राजनीतिक अवस्था र सामाजिक सञ्जालमा ‘भाइरल’ भएकाहरूको बढ्दो प्रभावका कारण आफूले यो निर्णय लिएको बताएका छन् । उनले भने, “सामाजिक सञ्जालमा भाइरल भएकाहरूको कब्जामा देश जाँदै छ, उनीहरूको न कुनै विचार छ, न सिद्धान्त, न त कुनै एजेन्डा नै । यदि यस्ता शक्तिहरू सत्तामा पुगे भने देश नै संकटमा पर्ने देखेपछि हामी परिवर्तनकारी शक्तिहरू एकजुट हुन नेकपामा जान लागेका हौँ।”
उनले राष्ट्रिय मुक्ति पार्टी क्रान्तिका लागि खोलिएको भए पनि निर्वाचनका लागि आवश्यक सङ्गठनात्मक संरचना नभएकाले विचार र मुद्दा मिल्ने नेकपासँग सहकार्य गर्न लागेको स्पष्ट पारे ।
२०७९ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर १३ हजार ७ सय ७० मत प्राप्त गरी चर्चामा आएका सायमी यसपटकको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनावी मैदानमा उत्रने तयारीमा छन् । नेकपाले उनलाई सोही क्षेत्रबाट टिकट दिने आश्वासन दिएको बुझिएको छ ।
मेयरको निर्वाचनपछि राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति क्रान्तिमा जोडिएका सायमीको बहिर्गमनलाई राष्ट्रिय मुक्ति पार्टीका लागि ठुलो झट्काका रूपमा हेरिएको छ । आजको प्रवेश कार्यक्रमसँगै सायमी र उनको समूहले नेकपाको झण्डामुनि रहेर काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रमा आफ्नो राजनीतिक सक्रियता बढाउने देखिएको छ ।















