Logo

३० पुष, काठमाडौं । नेपालको वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिएपछि केन्द्रीय बैंकले बजारबाट पैसा उठाउन पुनः ऋणपत्रको साहारा लिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ झ नामक एक वर्षे अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै प्रस्ताव पेस गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको हो । पछिल्लो समय बैंकहरूमा कर्जाको माग कम भएर तरलता थुप्रिएपछि त्यसलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले लगातार यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ । यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट तय गरिनेछ भने आर्जित ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा हुने व्यवस्था मिलाइएको छ ।

ऋणपत्र खरिदका लागि इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन् । बहुब्याजदर पद्धतिमा बोलकबोल गर्न सकिने यस प्रक्रियामा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई प्राथमिकता दिँदै एकल ब्याजदर कायम गरी ऋणपत्र बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले यस प्रक्रियामा अनुशासन कायम राख्न कडा नियम समेत अघि सारेको छ, जसअनुसार स्वीकृत बोल रकम बराबरको मौज्दात खातामा नभएमा २ दशमलव ५० प्रतिशत हर्जाना सहित ६ महिनासम्मका लागि कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेछ ।

यो ऋणपत्रको साँवा भुक्तानी २०८३ साल पुस ३० गते हुने तालिका तय गरिएको छ । बैंकहरूले यो ऋणपत्रमा गरेको लगानीलाई अनिवार्य नगद मौज्दात मा गणना गर्न नपाए पनि वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपात कायम गर्न भने उपयोग गर्न पाउनेछन् ।

बजारमा तरलता बढी भएर अन्तर–बैंक ब्याजदरमा गिरावट आउन नदिन राष्ट्र बैंकले यो कदम चालेको हो, जसले समग्र मौद्रिक व्यवस्थापनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै