३० पुष, काठमाडौं । लामो समयदेखि जारी आन्तरिक खिचातानी र घनीभूत राजनीतिक छलफलका बीच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नयाँ मोड लिएको छ ।
भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत बुधबार भएको मनोनयन दर्ता प्रक्रियामा महामन्त्री गगन थापाले पार्टी सभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समिति स्रोतका अनुसार निर्धारित समयभित्र सभापति पदमा थापाको मात्रै मनोनयन परेको छ, जसले कांग्रेसको भावी नेतृत्व र शक्ति सन्तुलनमा ठूलो फेरबदल आउने संकेत गरेको छ । सभापतिसँगै अन्य सबै पदाधिकारी पदका लागि समेत मनोनयन दर्ता भइसकेको छ, यद्यपि नेतृत्व तहमा देखिएको संवादहीनता र कानुनी जटिलताले गर्दा अझै केही अन्योल भने कायमै देखिएको छ ।
उम्मेदवारी दर्ता हुनुअघि बुधबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सहमतिको अन्तिम प्रयास स्वरूप त्रिपक्षीय वार्ता भएको थियो । तर, देउवाको राजीनामा र शक्ति हस्तान्तरणको विषयमा कुरा नमिलेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो । शीर्ष नेतृत्वबीच सहमति नजुट्दा पार्टी विभाजनको सँघारमा पुगेको चर्चा भइरहँदा दुई महामन्त्री थापा र शर्मा अहिले कानुनी परामर्शमा जुटेका छन् । महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक भइसकेको र उम्मेदवारी दर्ताको समय सकिएसँगै निर्वाचन समितिले दिउँसो १ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र र पुस्तान्तरणको मुद्दा पेचिलो बनिरहेका बेला गगन थापाको एकल उम्मेदवारीले विशेष महाधिवेशनलाई निर्णायक बिन्दुमा पुर्याएको छ । सभापति देउवाले महामन्त्रीहरूको प्रस्तावमा मौनता साँधेपछि संस्थापन र इतर पक्षबीचको दुरी थप बढेको देखिन्छ । एकातिर निर्वाचन समितिले चुनावी प्रक्रिया अघि बढाइरहेको छ भने अर्कोतिर शीर्ष नेताहरू अझै पनि सहमतिको झिनो आशामा आन्तरिक छलफलमा छन् । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार अबको केही घण्टामा उम्मेदवारीको अन्तिम तस्बिर प्रष्ट हुने र कांग्रेसको भावी दिशा तय हुनेछ ।















