३० पुष, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनको सरगर्मी बढ्दै जाँदा महामन्त्री पदका लागि प्रभावशाली युवा नेताहरू चुनावी मैदानमा उत्रिएका छन् ।
भृकुटीमण्डपमा जारी ऐतिहासिक दोस्रो विशेष महाधिवेशनअन्तर्गत बुधबार भएको मनोनयन दर्ताका क्रममा वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले महामन्त्री पदमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । सभापति पदमा गगन थापाको एकल उम्मेदवारी परेर नयाँ राजनीतिक तरङ्ग पैदा भइरहेका बेला महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारीले पार्टीको भावी कार्यदिशा र आन्तरिक शक्ति सन्तुलनलाई थप रोचक बनाएको छ ।
उम्मेदवारी दर्ताको औपचारिक प्रक्रिया सुरु हुनुअघि पार्टीभित्र सहमतिको वातावरण बनाउन शीर्ष तहमा सघन छलफल भए तापनि त्यसले ठोस स्वरूप लिन सकेन । बुधबार बिहान सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको निर्णायक वार्ता निष्कर्षविहीन बनेपछि संस्थापन र इतर पक्षबीचको राजनीतिक दूरी झनै बढेको देखिएको छ । वार्ता असफल भएसँगै नेतृत्व हस्तान्तरण र कानुनी जटिलताका विषयमा शर्मा र थापाले कानुनविद्हरूसँगको परामर्शलाई तीव्रता दिएका छन्, जसले महाधिवेशनको हलभित्रको तापक्रमलाई थप बढाएको छ ।
निर्वाचन समितिका अनुसार निर्धारित समयभित्र प्राप्त भएका मनोनयनहरूको प्रारम्भिक रुजु गर्ने काम भइरहेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले उम्मेदवारहरूको आधिकारिक नामावली बुधबार दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । पार्टीभित्रको पुस्तान्तरण र रूपान्तरणको मुद्दालाई मुख्य एजेन्डा बनाएका युवा नेताहरूको यो उम्मेदवारीले कांग्रेसको भविष्य र आसन्न सांगठनिक संरचनामा कस्तो प्रभाव पार्छ भन्ने कुरा अब हुने चुनावी प्रतिस्पर्धाले नै तय गर्ने देखिएको छ ।













