Logo

३० पुष, काठमाडौं ।  नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनले निम्त्याएको शक्ति संघर्षले अहिले उग्र रूप लिएको छ ।

पार्टीको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशनको पक्षमा उभिएका प्रभावशाली नेताहरूलाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ । विशेष महाधिवेशन पक्षधरले संस्थापनको असहमतिबीच पनि निर्वाचन प्रक्रियालाई तीव्रता दिँदै उम्मेदवारहरूको मनोनयन दर्ता र अन्तिम नामावली प्रकाशनको तयारी गरेपछि संस्थापन समूहले कठोर कदम चाल्ने निष्कर्ष निकालेको हो ।

संस्थापन पक्षका एक उच्च नेताका अनुसार, पार्टीको आधिकारिक निर्णय र वैधानिकता विपरीत समानान्तर गतिविधि गरी निर्वाचन प्रक्रिया अघि बढाइएकाले अनुशासनको उल्लंघन भएको ठहर गरिएको छ । विशेषगरी महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएपछि संस्थापन पक्ष थप आक्रोशित बनेको हो । निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्नेबित्तिकै गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूलाई कारबाहीको पत्र थमाउने तयारी भइरहेको बुझिएको छ ।

यस सम्भावित कारबाहीले नेपाली कांग्रेसलाई औपचारिक विभाजनको सँघारमा पुर्‍याएको विश्लेषण गरिएको छ । एकातर्फ विशेष महाधिवेशन पक्षधर नेताहरू नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डामा अडिग छन् भने अर्कोतर्फ संस्थापन पक्षले यसलाई विद्रोहको संज्ञा दिँदै संगठनमाथिको प्रहारका रूपमा लिएको छ ।

दुवै पक्ष आ–आफ्नो अडानमा टसको मस नभएपछि अहिले भृकुटीमण्डपदेखि सानेपासम्मको राजनीतिक वातावरण निकै तनावपूर्ण बनेको छ । निर्वाचन समितिको अन्तिम नामावली प्रकाशनसँगै कांग्रेसभित्रको यो शक्ति संघर्षले नयाँ र कडा मोड लिने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै