३० पुष, काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद र विशेष महाधिवेशनको रापका बीच इतर पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि कडा शर्तसहितको ८ बुँदे प्रस्ताव अघि सारेको छ ।
पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन र आसन्न निर्वाचनमा जित सुनिश्चित गर्न भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले सभापति शेरबहादुर देउवालाई कार्यकारी भूमिकाबाट बाहिरिन र महामन्त्री गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्ने मुख्य माग अघि सारेका हुन् । यो प्रस्तावले कांग्रेसभित्रको सत्ता संघर्षलाई झनै पेचिलो बनाएको छ भने संस्थापन पक्षलाई रक्षात्मक अवस्थामा पुर्याएको छ ।
इतर पक्षले अघि सारेको प्रस्तावमा नीतिगत र सांगठनिक दुवै पक्षलाई समेटिएको छ । जसअनुसार अब हुने निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने एकल प्रतिस्पर्धाको नीति लिनुपर्ने र उम्मेदवारको टिकटमा सभापति देउवाको सट्टा सर्वस्वीकार्य व्यक्तिको हस्ताक्षर हुनुपर्ने जिकिर गरिएको छ । उनीहरूले विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्दै यस अवधिमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको आधिकारिक पुँजीका रूपमा स्वीकार गर्नुपर्ने अडान समेत राखेका छन् । टिकट वितरणलाई पारदर्शी बनाउन सर्वस्वीकार्य संसदीय बोर्ड र निर्वाचन केन्द्रित ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
विशेष महाधिवेशन पक्षधरको यो बटमलाइनले कांग्रेसलाई औपचारिक विभाजनबाट जोगाउने वा नयाँ धु्रवीकरणतर्फ लैजाने भन्ने संकेत गर्ने देखिएको छ । सभापति देउवाले आफ्नै कार्यकालमा नेतृत्व हस्तान्तरण गर्ने वा यी प्रस्तावलाई अस्वीकार गरेर अघि बढ्ने भन्ने निर्णयले पार्टीको भविष्य तय गर्नेछ ।
खासगरी गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्तावले युवा पुस्ताका कार्यकर्तामा उत्साह थपे पनि संस्थापन पक्षभित्र भने यसलाई लिएर तीब्र असन्तुष्टि पैदा भएको बुझिएको छ ।














