३० पुष, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीलाई पार्टीबाट निष्कासन गरेपछि त्यसको प्रत्यक्ष पराकम्पन विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा देखिएको छ ।
सानेपाबाट कारबाहीको घोषणा हुनासाथ भृकुटीमण्डपमा भेला भएका हजारौँ नेता तथा कार्यकर्ताहरू आक्रोशित बन्दै सडकमा उत्रिएका छन् । संस्थापन पक्षको यो कदमलाई तानाशाही र अलोकतान्त्रिक संज्ञा दिँदै सहभागीहरूले सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । कारबाहीको खबर डढेलोझैँ फैलिएपछि भृकुटीमण्डप क्षेत्रमा एकाएक कार्यकर्ताहरूको बाक्लो उपस्थिति बढेको छ भने माहोल निकै तनावपूर्ण बनेको छ ।
पार्टी विभाजनको औपचारिक सङ्घारमा पुगेको यो घडीमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले संस्थापन पक्षको निर्णयलाई अमान्य घोषणा गरेका छन् । उनीहरूले पार्टीको रुख चिह्न र चारतारे झन्डाको वास्तविक हकदार आफूहरू नै भएको दाबी गर्दै नेतृत्वको पुस्तान्तरणका लागि मतदान प्रक्रियालाई अझ दृढताका साथ अघि बढाउने अडान लिएका छन् । सुरुमा केही शान्त देखिएको भृकुटीमण्डप परिसरमा कारबाहीको सूचना आएलगत्तै कार्यकर्ताहरूको चहलपहल र विरोध प्रदर्शनले उग्र रूप लिएको छ, जसले कांग्रेसभित्रको आन्तरिक विद्रोह अब नियन्त्रणबाहिर पुगेको स्पष्ट संकेत गरेको छ ।
अहिले भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कार्यकर्ताहरूले देउवा पक्षको पुत्ला दहन र चर्का नाराहरू लगाइरहेका छन् । महामन्त्रीद्वयलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निकालिएपछि सिर्जित यो आक्रोशले कांग्रेसको तल्लो तहसम्मै ठूलो विभाजन ल्याउने निश्चित देखिएको छ ।
एकातिर सानेपामा कानुनी र प्राविधिक ब्रिफिङ भइरहेको छ भने अर्कोतिर भृकुटीमण्डपमा भावना र आक्रोशको ज्वारभाटा उठेको छ, जसले मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक दल अब कहिल्यै नजोडिने गरी दुई चिरा भएको पुष्टि गरेको छ ।














