१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग भएपछि पुनर्गठित उज्यालो नेपाल पार्टीभित्र गम्भीर सांगठनिक संकट देखिएको छ ।
निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा पेश गरिएको ५१ सदस्यीय केन्द्रीय समितिका करिब एक दर्जन प्रभावशाली नेताहरूले कुलमान घिसिङ नेतृत्वको नयाँ संरचनामा नरहने घोषणा गरेका छन् । पूर्वसचिव अनूप उपाध्यायको नेतृत्वमा रहेको यो समूहले रास्वपासँग एकता गरे पनि शक्ति बाँडफाँटमा कुरा नमिलेपछि गत शनिबार मात्रै सम्बन्ध विच्छेद गरेको थियो । एकता भंग भएसँगै कुलमान घिसिङलाई अगाडि सारेर पार्टी ब्युँताइएको भए पनि स्थापनाकालीन महत्वपूर्ण अनुहारहरूले भने पूर्ववत् अवस्थामा फर्कन अस्वीकार गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरूमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएका डा। तारा जोशी, डा. विशाल भण्डारी, डा.अभिषेक सिंह, डा. सागर ढकाल र डा. घनश्याम पाण्डे जस्ता बौद्धिक व्यक्तित्वहरू रहेका छन् । त्यस्तै, विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट आएका निर्देश सिलवाल र सञ्जिव भट्टराईले पनि उज्यालो नेपालमा आबद्ध नहुने स्पष्ट पारेका छन् । रास्वपाको समानुपातिक बन्द सूचीमा रहेकी रिमा विश्वकर्माले समेत कुलमानको टिममा नफर्कने निर्णय गरेकी छन् । यति ठूलो संख्यामा केन्द्रीय सदस्यहरूले साथ छाडेपछि नयाँ नेतृत्वका लागि पार्टीलाई संगठित रूपमा अगाडि बढाउन ठूलो चुनौती खडा भएको छ ।
पार्टीमा नरहने निर्णय गरेका डा.विशाल भण्डारीले वैकल्पिक शक्तिहरू विभाजित हुनुभन्दा एक ठाउँमा उभिनुपर्ने आफ्नो धारणा रहेको बताएका छन् । नयाँ शक्तिहरू नमिल्ने हो भने देशमा राजनीतिक अस्थिरता कायम रहने भन्दै उनले एकताको पक्षमा जोड दिएका हुन् । निर्वाचन आयोगमा बुझाइएको सूचीमा रहेका प्रमुख व्यक्तिहरूले नै हात झिकेपछि उज्यालो नेपालको कानुनी र नैतिक आधारमा समेत प्रश्न उठेको छ ।
उज्यालो नेपालले अब आफ्ना बाँकी सदस्यहरूलाई कसरी एकीकृत गर्छ र वैकल्पिक राजनीतिको मैदानमा कसरी प्रस्तुत हुन्छ भन्ने विषय निकै चासोको विषय बनेको छ ।















