Logo

कांग्रेसको संस्थापन पक्षका कार्यवाहक सभापति: पूर्णबहादुर खड्का

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह वारपारको अवस्थामा पुगेको बेला संस्थापन पक्षले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएपछि संस्थापन पक्षले यसलाई गम्भीरतापूर्वक लिएको छ । पत्रकार सम्मेलनमा विशेष गरी गगन विश्व समूहले गरेको ‘विद्रोह’, नयाँ कार्यसमिति घोषणाको वैधानिकता र यसले पार्टीको आगामी राजनीतिक यात्रामा पार्ने प्रभावबारे कार्यवाहक सभापति खड्काले स्पष्ट पार्ने बुझिएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सम्मेलनमा पछिल्ला पार्टी गतिविधि, आसन्न निर्वाचनको तयारी र पार्टीभित्र देखिएको असाधारण परिस्थितिबारे सञ्चारकर्मीहरूलाई जानकारी दिइनेछ ।

यसअघि नै संस्थापन पक्षले महामन्त्रीद्वय थापा र शर्मालाई अनुशासनको कारबाही गर्ने चेतावनी दिइसकेको पृष्ठभूमिमा आजको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गरी निर्वाचन आयोगमा गएपनि संस्थापन पक्षले भने यसलाई ‘अवैधानिक’ ठहर गर्दै आएको छ ।

कार्यवाहक सभापति खड्काले आजको सम्बोधनमार्फत पार्टी एकजुट रहेको सन्देश दिने प्रयास गर्ने कि कारबाहीको थप प्रक्रिया अघि बढाउने भन्नेमा सबैको चासो केन्द्रित छ । पत्रकार सम्मेलनमा पार्टीका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहने बताइएको छ ।


सम्बन्धित समाचार