Logo

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आधिकारिकताको विवाद शुक्रबार निर्णायक मोडमा पुगेको छ ।

पार्टीका दुई समानान्तर शक्ति केन्द्रहरू शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्ष— ले आज दिउँसो २ बजे एकैसाथ छुट्टाछुट्टै महत्वपूर्ण कार्यक्रमको आयोजना गरेका छन् । यसले ऐतिहासिक रूपमा विभाजित अवस्थामा पुगेको कांग्रेसको आन्तरिक द्वन्द्वलाई सडक र कानुनी निकायसम्म पुर्‍याएको छ ।

संस्थापन पक्षले आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा एक वृहत् पत्रकार सम्मेलनको आयोजना गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्बोधन गर्ने उक्त सम्मेलनमार्फत देउवा पक्षले विशेष महाधिवेशनको अवैधानिकता पुष्टि गर्ने प्रयास गर्नेछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, केन्द्रीय समितिको निर्णयबिना गरिएको कुनै पनि भेलाले पार्टीको आधिकारिक स्वरूप लिन नसक्ने तर्कसहित संस्थापनले आफ्नो कानुनी र राजनीतिक अडान सार्वजनिक गर्ने तयारी गरेको छ । सानेपामा हुने यो पत्रकार सम्मेलनलाई देउवा पक्षले आफ्नो राजनीतिक शक्ति प्रदर्शनको रूपमा समेत लिएको छ ।

ठिक सोही समयमा, भृकुटीमण्डपको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा र उहाँको नेतृत्वको कार्यसमिति आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुग्दैछ । विशेष महाधिवेशन जनपरिचालन समितिका सदस्यसचिव सुसन वैद्यले जारी गरेको विज्ञप्ति अनुसार, नवनिर्वाचित सभापति थापासहितका केन्द्रीय सदस्यहरू चुनाव चिह्न रुख र पार्टीको वैधानिकताका विषयमा छलफल गर्न कान्तिपथस्थित आयोगको कार्यालय जान लागेका हुन् । थापा समूहले आफूहरूले विधानको प्रक्रिया पूरा गरेरै नेतृत्व परिवर्तन गरेको र बहुमत प्रतिनिधिहरूको समर्थन रहेकाले आयोगले आफूहरूलाई नै आधिकारिकता दिनुपर्ने जिकिर गर्दै आएको छ।

यी दुई समानान्तर गतिविधिले नेपाली कांग्रेसभित्रको विभाजनलाई औपचारिक रूपमै सतहमा ल्याइदिएको छ । एकातिर संस्थापन पक्षले विधान र संस्थागत निर्णयको दुहाई दिँदै विशेष महाधिवेशनलाई ठाडै अस्वीकार गरेको छ भने अर्कोतिर थापा पक्षले पार्टीमा नयाँ रक्तसञ्चार र वैधानिक परिवर्तनको दाबी गर्दै निर्वाचन आयोगको ढोका ढकढक्याएको छ ।

आजका यी दुई कार्यक्रमले कांग्रेसको आगामी राजनीतिक दिशा र आसन्न निर्वाचनमा पार्टीको सहभागितालाई लिएर उत्पन्न अन्योललाई अझै पेचिलो बनाउने देखिएको छ ।


सम्बन्धित समाचार